काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले श्रीलंकालाई हराउन सहज नहुने बताएका छन् ।
माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्धको खेल अघि प्रशिक्षक अल्मुताइरीले श्रीलंकाविरुद्धको खेल चुनौतिपूर्ण हुने बताएका छन् ।
'श्रीलंकाविरुद्धको खेल चुनौतीपूर्ण हुनेछ । सजिलो हुनेछैन । हामीले श्रीलंकाविरुद्ध कम्तिमा एक अंक बटुल्ने अपेक्षा लिएका छौ,' प्रशिक्षक अल्मुताइरीले प्रि म्याच कन्फरेन्समा भने, 'मलाई थाहा छ श्रीलंकाका खेलाडीहरु ट्याकलमा आक्रामक छन् । तर, उनीहरुको आक्रामक खेलको फाइदा उठाउने छौ ।'
नेपालले दोस्रो खेलको रुपमा भोलि सोमबार श्रीलंकाविरुद्ध खेल्दैछ । नेपाल र श्रीलंकाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
प्रशिक्षक अल्मुताइरीले श्रीलंकाले नेपाली टिमलाई आश्चर्यचकित बनाउने समेत बताए ।
'उनीहरुले हामीलाई आश्चर्यचकित पार्नेछ । श्रीलंकाको टिम राम्रो छ र बलियो टिम हो । बंगलादेशविरुद्ध राम्रो खेल्यो । तर उनीहरुको रणनीतिलाई लिएर आफूहरु अलमलमा छौँ,' उनले भने ।

नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।
नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरेका थिए । नेपाल तीन अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
श्रीलंका भने पहिलो खेलमा पराजित भएको थियो । श्रीलंकाले बंगलादेशलाई खेल १-० ले सुम्पिएको थियो ।
यस्तै प्रशिक्षक अल्मुताइरीले श्रीलंकाविरुद्धको खेल फाइनल सरह भएको बताए ।
'भोलीको हाम्रो खेल राम्रो हुनेछ र अहिले हामी श्रीलंकासँगको खेलमा केन्द्रीत छौ । भोलीको खेल हाम्रो लागी फाईनल सरह हुनेछ र हामीले अवश्य जित्नुपर्छ,' उनले थपे ।