काठमाडौं । लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले कोरोना भाईरसविरुद्धको खोप अस्विकार गर्ने कार्यलाई मादकपदार्थ सेवन गरेर गाडी चलाउने कार्यसँग तुलना गरेका छन् ।
इंग्लिस प्रिमियर लिगमा सहभागी क्लबमध्ये सात वटा मात्र क्लबका ५० प्रतिशत भन्दा माथि सदस्यहरुले कोरोना भाइरसविरुद्धको खोप लगाएको तथ्य सार्वजनिक भएपछि क्लोपको यस्तो प्रतिक्रिया आएको हो ।
क्लोपले मानिसहरु किन खोपलाई अस्विकार गरिरहेका छन् भनेर बुझ्न नसकिरहेको बताए ।
खासमा प्रिमियर लिगका अधिकांश क्लबका खेलाडीहरुमध्ये ५० प्रतिशत भन्दा थोरैले मात्र कोरोना भाइरसविरुद्धको खोप लिएकोप्रति चासो बढ्दै गएको छ ।
क्लोपले आफ्नो क्लबका ९९ प्रतिशत खेलाडीले खोप लिइसकेको तथा उनीहरुलाई कसैले आश्वस्त पार्नु नपरेको जनाएका छन् । उनले आफूले खोप केवल आफ्नो रक्षाका लागि मात्र नभएर आफू वरपर हुने सबैको सुरक्षाको लागि लगाएको समेत बताए ।
‘मलाई थाहा छैन यो किन स्वतन्त्रामाथिको सीमा हो । त्यसो भए मादकपदार्थ सेवन गरेर गाडी चलाउन अनुमति नदिनु पनि स्वतन्त्रामाथिको सीमा हो, तर हामीले यसलाई स्वीकार गर्छौ,’ क्लोपले भने ।
उनले थपे ‘मैले खोप लगाए किनभने म आफ्नो बारेमा चिन्तित थिए तर अझ धेरै मेरो वरपर हुने सबैको लागि ।’ ‘यदि मलाई कोरोना लाग्यो र मैले समस्या झेले भने यो मेरो गल्ती हो । यदि मलाई कोरोना लाग्यो र मैले चाडैतिर फैलाए भने यो मेरो गल्ती हो, उनीहरुको होईन ।’