काठमाडौं । नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएको जनाएको छ ।
उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने एएफसी यू-२३ एसियन कप छनोटका लागि यू-२३ टोली बन्द प्रशिक्षणमा रहेका छन् ।
नेपाली टोली मुख्य प्रशिक्षक बाल गोपाल महर्जनको नेतृत्वमा प्रशिक्षण गरिरहेका छन् ।
१० खेलाडी बाहिरिएसँगै अब प्रशिक्षणमा ३२ खेलाडी रहेका छन् ।
छनोटमा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् ।
ताजिकिस्तानमा हुने समूह 'बी' छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ ।
नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग खेल्नेछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग खेल्दा अन्तिम खेल लेबनानसँग खेल्नेछ ।
छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् ।
उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।
नेपाली टिम :
अर्पण कार्की, विशाल सुनार, अविशेक बराल, रोहित कार्की, सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, अशिम भुसाल, रन्दिप पौडेल, विश्वास उदास, विशाल बस्नेत, रोमन लिम्बु, आदील हामिद, आशिक थापा, अनिल महर्जन, अविशेक लिम्बु, शिव गुरुङ,नितिन थापा, सुरज ज्यु ठकुरी, आयुस घलान, सेसेहाङ आङ्देम्बे, दिपेश गुरुङ, राजिब लोप्चन, शिशिर लेखि, आकाश बुढा मगर, रोशन पहाडी, ऋतिक खड्का, मनिष डाँगी, अविशेक रिजाल, दर्शन गुरुङ, बुद्ध बल तामाङ, एरिक विष्ट