काठमाडौं । नेपालले शुक्रबार राति आयोजक माल्दिभ्सलाई हराएर १३ औं संस्करणको साफ च्याम्पियनसिपमा सुखद सुरुआत गर्यो ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपालले माल्दिभ्सलाई १-० गोल अन्तरले हराएको हो ।
नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरेका थिए । मनिषले खेलको ८६ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
नेपालको जितमा निर्णायक गोल गरेपछि मनिष खुशी देखिए । उनले विश्वास गरेर मैदान पठाउने प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीप्रति आभार समेत व्यक्त गरे ।

'प्रशिक्षकले तिमीले गोल गर्छौं भनेर विश्वास गरेर मैदान पठाउनु भएको थियो । त्यसका लागि प्रशिक्षकलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । म माथि विश्वास गर्नु भएकोमा,' मनिषले भने, 'टिमले सपोर्ट गरिरहनु भएको थियो । प्रशिक्षक निर्देशनमा हामी गईरहेका थियौं । लक्कीले बल मेरो खुट्टामा आयो, दिमागमा जे आयो त्यहि गरे । र गोल पनि भयो । त्यसका लागि टिम, प्रशिक्षक र अफिसियललाई धन्यवाद दिन चाहन्छु ।'
कोरियाको फुटबल एकेडेमीमा हुर्किएका मनिषको यो नेपालका लागि दोस्रो गोल समेत हो ।
यस अघि मनिषले इराकविरुद्धको मैत्रीपूर्ण खेलमा गोल गरेका थिए । उनले डेब्यु खेलमै गोल गरेका थिए ।