काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माल्दिभ्सविरुद्ध नेपाल जितका लागि हकदार रहेको बताएका छन्।
शुक्रबार राति माल्दिभ्सविरुद्ध जित निकाल्दै साफ च्याम्पियनसिपमा सुखद सुरुआत गरेपछि बोल्दै प्रशिक्षक अल्मुताइरीले टिम जितका लागि हकदार भएको बताएका हुन् ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपालले आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले हराएको थियो । नेपालको जितमा मनिष डाँगीले ८६ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
प्रशिक्षक अल्मुताइरीले माल्दिभ्सविरुद्ध नेपाली टिमका लागि मनिष हिरो भएको समेत बताए ।
'हामी जितका लागि हकदार थियौं । हामीले राम्रो खेल खेल्यौं । उनीहरुले केहि मौका गुमायो र हामीले पनि केहि मौका गुमाएका थियौं । आजको हाम्रो हिरो मनिष डाँगी हो,' प्रशिक्षक अल्मुताइरीले पोस्ट म्याच कन्फरेन्समा भने ।
नेपालले २२ वर्षपछि माल्दिभ्सलाई हराएको हो । नेपालले पछिल्लो पटक सन् १९९९ को साग खेलकुदमा माल्दिभ्सलाई २-१ ले हराएको थियो ।
नेपालले पहिलो पल्ट साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई हराएको हो । नेपालले यस अघि साफमा माल्दिभ्सलाई हराउँन सकेको थिएन ।
यस्तै प्रशिक्षक अल्मुताइरीले नेपालले उपाधि नजितेको बताउँदै समर्थकलाई संयमित रहन आग्रह समेत गरेका छन् ।
'अहिले हामीले उपाधि जितिसकेका छैनौं । संयमित हुन जरुरी छ । अब हाम्रो ध्यान अर्को खेलमा हुनेछ ,' उनले थपे, 'नेपालमा रहनु भएका सबैलाई पनि शान्त रहन आग्रह गर्दछु ।'
अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।