काठमाडौं । म्यानचेस्टर युनाइटेडका समर्थकका लागि यो खुबै रोमाञ्चित गर्ने खालको भविष्यवाणी हो ।
टोटनहमका पूर्व प्रशिक्षक टिम सेरउडले दाबीसहितको अनुमान गरेका छन्, यस्तै परिस्थिति हुने हो भने ढिलो चाँडो म्यानचेस्टरका व्यवस्थापक क्रिस्टियानो रोनाल्डो आफै हुनेछन् ।
अझ सेरउडले के सम्म भनेका छन् भने यो काम अबको १८ महिनाभित्र हुनेछ ।

पोर्चुगाली ३६ वर्षीय रोनाल्डोले ओल्ड ट्रायफोर्डमा बलियो पुर्नआगमन गरेका छन् र अहिलेसम्म तीन खेलमा चार गोल गरिसकेका छन् । उनी आफ्नो खेल जीवनको अन्त्यतिर छन् र लगतै प्रशिक्षक हुने समेत अनुमान छ ।
त्यसैबीच सेरउडले भविष्यवाणी गरेका हुन्, रोनाल्डो अब म्यानचेस्टरको डगआउटमा देखिने छन् ।
यसको एउटा कारण अहिलेका व्यवस्थापक ओले गन सोल्सारको नेतृत्वमा म्यानचेस्टरले कुनै पनि उपाधि जित्न नसक्नु रहेको छ । भर्खरै मात्र म्यानचेस्टर लिगकपबाट पनि बाहिरिएको छ, वेस्ट ह्यामविरुद्ध पराजित रहेर ।
यो एक अर्को उपाधि जित्नबाट रोकिएको अवसरका रूपमा ब्याख्या गरिएको छ । यही कारणले पनि सोल्सारमाथि दबाब चर्को छ ।
यता रोनाल्डोले पनि भविष्यमा व्यवस्थापक हुने गुण देखाइसकेका छन् । धेरैलाई सन् २०१६ को युरोको फाइनल सम्झना हुनु पर्छ । चोट बोकेर मैदानबाट बाहिरिएपछि रोनाल्डोले प्रशिक्षक जस्तै भएर काम गरेका थिए ।
उनी वास्तविक प्रशिक्षक फर्नान्डो सान्तोससँगै टिमलाई निर्देशन दिइरहेका छन् । उनले यस्तै काम म्यानचेस्टरका लागि योङ ब्वाइजविरुद्धको खेलमा पनि गरेका थिए ।
–मिररको सहयोगमा ।