काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटको दोस्रो खेलमा नेपालले अहिले हङकङविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा जारी खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफमा नेपाल र हङकङले गोलरहित बराबरी खेलेका छन्।
एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाल आज हङकङविरुद्ध जित निकाल्ने योजनासहित मैदानमा रहेको छ ।
एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको छ।
समूह एफ मा रहेको नेपालले पहिलो खेलमा फिलिपिन्सविरुद्ध खेलेको थियो। जुन खेलमा नेपाल २-१ ले पराजित भएको थियो। अन्तिम केहि मिनेट सम्हालिन नसक्दा नेपाल सुरुवाती अग्रता बनाएर पनि पराजित भएको थियो।
फिलिपिन्सविरुद्धको हारसँगै नेपाल दबाबमा रहेको छ। छनोटको आशा कायम राख्न नेपाललाई जित्नै पर्ने हुन्छ। नेपाललाई जितले मात्र पुग्दैन। फिलिपिन्स र हङकङबीचको खेलमा समेत भर पर्नु पर्नेछ।
यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।
एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।
बलियो टिम हङकङविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन। हङकङविरुद्धको हेड टु हेडमा समेत नेपाल कमजोर रहेको छ।
नेपालले यस अघि हङकङविरुद्ध दुई खेल खेलेको थियो। दुबै खेलमा नेपालले हार व्यहोरेको थियो।
सन् १९८६ मा भएको पहिलो भेटमा नेपाल हङकङसँग १-० ले पराजित भएको थियो। यस्तै १९८९ मा भएको दोस्रो भेटमा नेपाल हङकङसँग ३-० ले पराजित भएको थियो।