काठमाडौं । बार्सिलोना अध्यक्ष जोन लापोर्टा भर्खरै एउटा नयाँ तथ्यको खुलासा गरेका छन् र त्यस अनुसार उनले लियोनल मेस्सीसँग क्लब छाडे यता कुरा गरेकै छैनन् ।
अर्थात सामान्य सन्चो विसन्चोबारे सोध्ने काम पनि भएको छैन् । बोलचालको स्थिति नै छैन् । मेस्सीले बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन (पीएसजी) गए यता यस्तो पानी बाराबारको स्थिति बनेको हो ।
अझ अध्यक्ष लापोर्टाले के पनि दाबी गरेका छन् भने स्पेनी ला लिगाले मेस्सीसँग नयाँ अनुबन्ध गर्न भनेको पनि थियो । तर त्यसपछि के भयो, सबथोक सबैलाई थाहा नै छ, लापोर्टाको दाबी छ ।

बार्सिलोनासँगको सम्बन्ध टुटेपछि क्याटलान क्लब मात्र होइन्, मेस्सी आफै पनि निकै दु:खी र निराश भएको पनि उनले माने ।
उनले भने, ‘दुवैका लागि यो ठीक स्थिति थिएन् । त्यसैले पनि हामीबीच अहिलेसम्म दोहोरो कुराकानी भएको छैन् । मैले उनले पहिलो पल्ट पीएसजीका लागि खेलेको हेरें र यो मेरो लागि अनौठो थियो । मेस्सीले अर्को क्लबको जर्सी लगाएर खेलेको हेर्नु सजिलो थिएन् । मलाई यो पटक्कै मन परेन् ।’
लापोर्टाले मेस्सी बार्सिलोनाबाट बाहिरिनुको मुख्य कारण आर्थिक नै भएको फेरि बताए । उनको अनुसार एन्टोन ग्रिजमनले छाडे यता पनि मेस्सीलाई बार्सिलोनामा राख्न सम्भव थिएन् ।
केही बार्सिलोना समर्थकले ग्रिजमनकै कारण मेस्सी बाहिरिएको पनि भनिरहेका छन् । मेस्सी गए यता ग्रिजमन पनि एटलेटिको मड्रिड गएका थिए ।
मार्काको सहयोगमा ।