काठमाडौं। लिभरपुलले पुष्टि गरेको छ, उसका गिनीका खेलाडी नेबी केइटा ठीक अवस्थामा छन् । तर उनले कसरी आफ्नो देश छाड्ने हो, त्यो भने टुंगो छैन् ।
भएको के हो भन्दा केइटा गिनीमा हालै भएको सैनिक ‘कु’ मा फसेका छन् । उनी अफ्रिकी विश्वकप छनोट खेल्न आफ्नो देश फर्केका थिए । त्यो छनोट खेल मोरक्कोविरुद्ध थियो ।
तर, खेल अगाडि नै गिनीमा सैनिक ‘कु’ भयो र विद्रोहीहरूले आफ्नो देशको सिमा पूर्णत: बन्द गरेका छन् । अनि पूरा देशमा कर्फ्यु पनि लगाइएको छ ।
त्यति मात्र होइन्, देशको केही भागमा दोहोरो गोली हानाहानको स्थिति समेत रहेको छ । यस्तोमा २६ वर्षीय केइटा कसरी इंग्ल्यान्ड फर्केने हो, त्यो टुंगो नलागेको हो ।
विशेषत: आइतबार राष्ट्रपतिको कार्यालयमा दोहोरो भिडन्त भएको थियो र विश्वकप छनोटको खेल सोमबार थियो । विद्रोहीले राष्ट्रपति अल्फा कोन्डेलाई नियन्त्रणमा लिएर शक्ति आफ्नो हातमा लिएका थिए ।
अहिले राष्ट्रपति गिरफ्तारीको स्थितिमा छन् । लिरभपुल भने आफ्ना खेलाडीलाई कसरी सकेसम्म चाँडै फर्काउने हो, त्यसको प्रयासमा छ ।
लिभरपुलले भनेको छ, गिनीमा पक्कै पनि स्थिति अनुकुल छैन् । तर हामी केइटालाई इंग्ल्यान्ड फर्काउन सम्बन्धित पदाधिकारीसँग कुराकानी गर्ने प्रयासमा छौं ।
हाम्रो एक मात्र उद्देश्य केइटा सुरक्षित रहोस र चाँडै इंग्ल्यान्ड फर्कन पाओस भन्ने नै हो । गिनीको अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहेको हुनाले पनि कोही बाहिर जान पाइरहेका छैनन् ।
–मिररको सहयोगमा ।