काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी कतार प्रस्थान गरेका छन् ।
प्रशिक्षक अल्मुताइरी आज सोमबार कतार प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
साफ च्याम्पियनसिपको लागि नेपाली टिमले कतारको दोहामा तयारी गर्दैछ ।
जसका लागि प्रशिक्षक अल्मुताइरी कतार गएका हुन् ।
नेपाली टिम नेपाली टिम सेप्टेम्बर १० (भदौ २५) मा दोहा प्रस्थान गर्ने छन् ।
तर, प्रशिक्षक अल्मुताइरी टिम भन्दा अघि नै कतार गएका हुन् ।
नेपालले हालै भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको छ ।
नेपालले पहिलो खेलमा भारतसँग १-१ गोलको बराबरी खेलेको थियो ।
आइतबार भएको दोस्रो खेलमा भने नेपाल २-१ ले पराजित भएको थियो ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।
नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ (असोज १८) गते खेल्नेछ ।
नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ ।
पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६ (असोज ३०) मा प्रतिस्पर्धा गर्ने छन् ।
बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु :
किरण कुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापा मगर,नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी,विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा