काठमाडौं । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय महिला फुटबल टिम आज सोमबार नेपाल आईपुगेका छन् ।
बंगलादेशी टिम बिहान साढे १० बजे नेपाल आईपुगेका हुन् ।
बंगलादेशी टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली, एन्फा महिला कमिटिका पदाधिकारी लगायतले स्वागत गरेका थिए ।
बंगलादेशले नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपाल र बंगलादेशबीचको खेल सेप्टेम्बर ९ र १२ (भदौ २४-२७) गते दशरथ रंगशालामा हुनेछ ।
उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप-२०२२ छनोट अघि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय नेपाली टिमको घोषणा गरिसकेको छ ।
छनोटमा नेपाल समूह 'एफ' मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ ।
छनोट खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ ।
नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।
नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ (असोज २) मा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । उक्त खेल सेप्टेम्बर २१ (असोज ५) मा हुनेछ ।
यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ (असोज ८) मा हुनेछ ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।
एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।