काठमाडौं । यस वर्षको राष्ट्रिय फुटबल लिग ‘होम एण्ड अवे’का आधारमा सञ्चालन गर्ने तयारी गरिएको छ ।
कोभिड–१९ का कारण गत वर्ष प्रभावित बनेको राष्ट्रिय लिग ‘होम एण्ड अवे’ का आधारमा सञ्चालनको तयारी भएको हो ।
राष्ट्रिय लिग कमिटीका संयोजक वीरबहादुर खड्काले सहभागी हुने सबै क्लबसँग छलफल गरेर यसबारे टुङ्गो लाग्ने खेलपाटीलाई बताए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय लिगको मिति र अन्य मोडालिटी तय गर्न सहभागी १० क्लबलाई भोली (शुक्रबार) छलफलमा बोलाएको छ । शुक्रबारको छलफलले राष्ट्रिय लिगका सन्दर्भमा देखिएको अन्यौलता हटाउने अपेक्षा गरिएको छ ।
एन्फा तालिका अनुसार राष्ट्रिय लिग भदौमा सुरु गर्नुपर्ने उल्लेख छ । तर एन्फाले सहिद स्मारक ए डिभिजन लिगको मिति तोक्दै राष्ट्रिय लिगलाई संगसंगै लैजाने माडालिटी तय गर्यो ।
तर ए डिभिजन र राष्ट्रिय लिग संगसंगै लैजाने विषयमा क्लबहरुको बिमती छ । यसमा एन्फाकै पदाधिकारीले समेत असन्तुष्ट छन् ।
‘एन्फा तालिका अनुसार पहिला राष्ट्रिय लिग गर्नुपर्ने थियो । राष्ट्रिय लिग नभएर ए डिभिजन लिगको मिति घोषणा भैसकेको छ । मिति घोषणा भएपछि सबै खेलाडीलाई सहिद स्मारक खेल्ने क्लबले अनुबन्ध गरेका छन् । त्यसैलै दुवै लिग संगै लैजान सम्भव छैन ।’ एन्फा उपाध्यक्ष समेत रहेका खड्काले भने ।
एन्फाले राष्ट्रिय लिग खेल्ने सबै क्लबलाई शुक्रबार छलफलमा बोलाएको छ । बैठक एन्फा हेडक्वार्टर सातदोबाटोमा साढे १२ बजे सुरु हुनेछ । छलफलमा सहभागी हुन मोफसलका सबै क्लबका अधिकारी काठमाडौं आइपुगेको खड्काले बताए ।
‘राष्ट्रिय लिग होम एण्ड अवे आधारमै गर्ने हो । एन्फा कार्यसमितिको बैठक बसेर निर्णय भैसकेको कुरा हो । क्लबहरु तयार भैसकेका छन् ।’ खड्काले भने, ‘दुवै लिग एकै पटक खेल्ने÷नखेल्ने, कुन क्लबको घरेलु मैदान कुन हुने, कति ठाउँमा घरेलु मैदान तय गर्ने भन्ने विषय बैठकले टुङ्गो लगाउनेछ ।’
एन्फाले असोज ३ गतेबाट सहिद स्मारक ए डिभिजन लिग सुरु गर्दैछ । राष्ट्रिय लिगका लागि कात्तिक ३० गतेको प्रस्तावित मिति एन्फाले छलफलमा राखेको छ ।
शुक्रबारको बैठकले सहिद स्मारकको पहिलो चरण सकिएपछि वा पुरै लिग सकिएपछि राष्ट्रिय लिग आयोजना गर्ने सन्दर्भमा निर्णय गर्नेछ ।
‘सहिद स्मारकको पहिलो चरणमा ९१ खेल हुनेछ । पहिलो चरण सकिएपछि राष्ट्रिय लिग सुरु गर्ने वा ए डिभिजनका सबै खेल सकिएपछि सुरु गर्ने भन्ने टुङ्गो बैठकले लगाउनेछ ।’ खड्काले भने ।
एन्फाको २०७६ साल माघ २५ गते बसेको कार्यसमिति बैठकले वीरबहादुर खड्कालाई राष्ट्रिय लिग कमिटीको संयोजकको जिम्मेवारी दिएको थियो । सोही बैठकले राष्ट्रिय लिग ‘होम एण्ड अवे’का आधारमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
नेपाली फुटबलमा नयाँ संरचना लागु गर्ने उद्धेश्य अनुरुप घरेलु फुटबलमा दुई पटक राष्ट्रिय लिग सञ्चालन भएका थिए । यसअघि राष्ट्रिय लिग सन् २०११÷१२ र सन् २०१५ मा भएको थियो ।
पहिलो पटकको राष्ट्रिय लिगमा ए डिभिजनका शीर्ष ८ टिम र मोफसलका २ टिम सहभागी थिए । ‘सिंगल राउण्ड रोबिन’मा भएको प्रतियोगितामा पुलिस च्याम्पियन बनेको थियो ।
तीन वर्षपछि पुन राष्ट्रिय लिगको भएको थियो । ‘डबल राउण्ड रोबिन’ लिगका आधारमा भएको प्रतियोगितामा ए डिभिजनका शीर्ष १० टिम र मोफसलका ४ टिमलाई समावेश गरिएको थियो । मछिन्द्र, हिमालयन शेर्पा, सरस्वती र फ्रेन्ड्स क्लबमाथि एन्फाको कारबाही र संकटाले प्रतियोगिता नखेल्ने बताएपछि जम्मा ९ टिमले राष्ट्रिय लिग खेलेका थिए । ‘होम एण्ड अवे’का आधारमा सञ्चालित प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले जितेको थियो ।
तेस्रो पटक राष्ट्रिय लिग २०२० मा तय भएको थियो । ए डिभिजनका शीर्ष ६ टिम र मोफसलका ४ टिम समावेश गर्दै राष्ट्रिय लिग तय गरिएको थियो । एन्फा प्रेसिडेन्टका शीर्ष चार क्लब राष्ट्रिय लिगका लागि छनोट भएका थिए ।
सुदुरपश्चिम कैलालीको स्टार सिटी युथ क्लब, लुम्बिनी प्रदेश बाँकेको धम्बोजी क्लब, प्रदेश २ रौतहटको मनकामना युथ क्लब र गण्डकी प्रदेश लम्जुङको त्रिवेणी युथ क्लब एन्फा प्रेसिडेन्ट लिगको शीर्ष चारमा रहदै राष्ट्रिय लिगमा छनोट भएका हुन् ।
पछिल्लो संस्करणको ए डिभिजन लिगमा च्याम्पियन बनेको मछिन्द्र एफसी सहित मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, जावलाखेल युथ क्लब र थ्री स्टार राष्ट्रिय लिग खेल्दैछन् ।