एजेन्सी । फर्नान्डो टोरेस फेरि फर्केका छन्, एट्लेटिको मड्रिडमा । यसरी उनी आफ्नो माउ क्लबमा फर्कन पाएको असाध्यै खुसी पनि छन् ।
त्यसैले उनले सामाजिक संजालमा लेखेका छन्, ‘घरमा फर्कन पाएकोमा म खुसी र गर्व महसुस गरिरहेको छुं ।’ एक समयका ठूला स्टार खेलाडी टोरेस यसपल्ट प्रशिक्षकका रूपमा एट्लेटिको फर्केका हुन् ।
उनको जिम्मेवारी हुनेछ, एट्लेटिकोको यू-१९ टिम । यो भूमिकामा सोमबार पहिलो सेसन बिताएपछि उनको अनुहारमा वास्तवमै खुसी देखिएको थियो ।

यसक्रममा उनको गोरो अनुहार रातोपिरो नै देखिएको थियो । यससँगै उनले आफ्नो खेल जीवनको नयाँ अध्याय पनि सुरु गरेका छन् ।
आफू हुर्के बढेको र कप्तानी समेत गरेको क्लबमा फर्कन पाएकोमा उनले थपेका छन्, ‘अब नयाँ चुनौतीको सामना गर्दै छुं र यो पक्कै पनि रोमाञ्चक हुनु पर्छ । मैले प्रिय एट्लेटिकोको सेवा गर्ने क्रममा यो काम भित्री मनले गर्नेछु ।’ उनको अबको जिम्मेवारीमा यू-१९ टिम हेर्नेसँगै स्पेनी ला लिगा च्याम्पियनको एकेडेमीमा सुधार गर्नु पनि हुनेछ ।

सन् २००१ बाट एट्लेटिकोमा खेल सुरु गरेका टोरेसले खास नाम भने लिभरपुलबाट खेलेर कमाए । त्यसपछि उनले चेल्सी र एसी मिलानबाट पनि खेले ।
सन् २०१५ मा उनी फेरि एट्लेटिको फर्के, ऋणमा । पछि उनले एट्लेटिकोमै स्थायी स्थानान्तर पनि पाए । उनले अन्तिम पटक जापानको सगन तोसुबाट खेलेका थिए ।

–द डेली मेलको सहयोगमा ।