काठमाडौं । ललितपुरको 'ए' डिभिजन क्लब ब्रिगेड ब्वाईज क्लब (बीबीसी) ले मुख्य प्रशिक्षक खगेन्द्र पुनलाई बिदाइ गरेको छ ।
ब्रिगेडले सोमबार एक कार्यक्रमको आयोजना गर्दै प्रशिक्षक पुनको बिदाइ गरेको हो ।
ब्रिटिस आर्मीका क्याप्टेन रहेका पुन ब्रिगेडमा दुई वर्ष बिताएर बेलायत फर्किएका हुन् ।
'ब्रिटिस आर्मीका क्याप्टेन रहनु भएका प्रशिक्षक खगेन्द्र पुन सेवा अवधि पूरा गरेर युके फर्कनु भएको छ,' ब्रिगेडका टिम व्यवस्थापक अरबिन्द गुरुङले भने, 'अघिल्लो सिजनको लिगमा उहाँ मुख्य प्रशिक्षक हुनुहुन्थ्यो ।'
अघिल्लो सिजनको लिगमा ब्रिगेड १३ औं स्थानमा रहेको थियो । ब्रिगेडले १३ खेलमा २ जितसहित ९ अंक जोडेको थियो ।
व्यवस्थापक अरबिन्द गुरुङले आउने सिजनको लिगमा सनोज श्रेष्ठ मुख्य प्रशिक्षक रहने बताए ।
'यस पटकको लिगमा सनोज श्रेष्ठ टिमको प्रशिक्षक हुनुहुन्छ,' गुरुङले भने ।
नयाँ सिजनको 'ए' लिग असोज ३ गतेबाट सुरु हुनेछ ।
