मुख्य प्रशिक्षकका रूपमा सोल्सार म्यानचेस्टरमा रहने पक्का पक्की जस्तै थियो । यी नर्वेली प्रशिक्षकले ठीकठाकसँग क्लब सम्हालेका छन् र सम्भवत: म्यानचेस्टरको टाउकेहरू उनको प्रदर्शनमा खुसी पनि छन् ।
सबैलाई थाहा नै छ, सर एलेक्स फर्गुसनले छाडेयता म्यानचेस्टरको स्थिति त्यस्तो रहेन, जस्तो पहिले रहेको थियो । फर्गुसनपछि क्लबमा डेविड मोयस आए । लुइस भान गाल आए । अनि जोसे मोउरिन्हो पनि आए । यी कसैले पनि म्यानचेस्टरलाई त्यस्तो टिम दिन सकेन्, जस्तो फर्गुसनको बेला हुने गथ्र्यो ।
यस्तोमा जति बेला सोल्सारले टिम हेर्ने निश्चित भयो, यो उनका लागि निकै चुनौतीपूर्ण काम थियो नै । अझ यसलाई निकै कठिन काम भन्दा पनि हुन्थ्यो । तर यिनै सोल्सारले टिमलाई ढंगले चलाएका छन् । यसको कारण त हो, क्लबले पछिल्लो समय केही प्रतिभाशाली खेलाडीलाई टिममा भित्र्याउन सफल भएको छ ।
सोल्सार आएयता सबैभन्दा ठूलो र सफल अनुबन्ध त ब्रुनो फर्नान्डेज नै रहेको छ । पछिल्लो पल्ट जाडोन सान्चो आउनु पनि म्यानचेस्टरका लागि सफलता नै हो । तर सबथोक यत्तिकैमा सकिन्न, म्यानचेस्टरको एक मात्र लक्ष्य भनेको त उपाधि जित्नु नै हो । पछिल्लो समय इंग्लिस फुटबलको सबैभन्दा ठूलो शक्ति रहेको छ, म्यानचेस्टर सिटी ।
म्यानचेस्टरले सबैभन्दा पहिले आफ्नो छिमेकी क्लबलाई चुनौती दिन सक्नु पर्नेछ, उपाधि होडमा । म्यानचेस्टरको खास र पारम्परिक प्रतिद्वन्द्वी लिभरपुलले पनि पछिल्लो समय राम्रै गरिरहेको छ । सँगै चेल्सी रहेको छ । अनि अरू केही ठूला क्लब पनि । यस्तोमा म्यानचेस्टरलाई उपाधिको होडमा रहनु सजिलो पनि छैन् ।
तर ठीक यहींनिर म्यानचेस्टरले सोल्सारमाथि विश्वास देखाएको छ । म्यानचेस्टरलाई लागेको छ, भविष्यमा केही ठूलो जित्नु छ भने यसका लागि उपयुक्त प्रशिक्षक भनेको सोल्सार नै हो । फेरि नयाँ अनुबन्धपछि सोल्सारको आत्मविश्वास पनि बढेको हुनु पर्छ । अब उनले पनि ढुक्क भएर काम गर्न सक्छ ।
–मार्काको सहयोगमा ।