काठमाडौं । नेपाललाई १३ औं संस्करणको साफ च्याम्पियनसिप आयोजना गर्न औपचारिक प्रस्ताव आएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपाललाई पत्र लेख्दै आगामी अक्टोबरमा साफ आयोजनाको प्रस्ताव गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार साफबाट प्रतियोगिता आयोजनाका लागि औपचारिक प्रस्ताव आएको जनाएको छ ।
साफका महासचिव अनवारूल हकले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै साफ आयोजनाको औपचारिक प्रस्ताव गरेको एन्फाले जनाएको छ ।
महासचिव तुलाधरले साफ आयोजनाका लागि नेपालले बिस्तृत प्रस्ताव तयार गरि अनुमोदनका लागि साफलाई पठाईने बताएका छन् ।
प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड-१९ का कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नेपालले आयोजनाको दाबी प्रस्तुत गरेको थियो ।
नेपालसँगै श्रीलंका, भारत र माल्दिभ्सले समेत आयोजनाका लागि दाबी गरेका छन् ।
नेपालले यसअघि दुई पटक साफ च्याम्पियनसिपको आयोजना गरिसकेको छ ।
नेपालले सन् १९९७ मा र २०१३ मा साफ च्याम्पियनसिपको आयोजना गरेको थियो।