एजेन्सी । नेदरल्याण्डका विंगर आर्जेन रोबिनले खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
जर्मन क्लब बायर्न म्युनिखका पूर्व विंगर रोबिनले बिहीबार खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।
रोबिनले एक विज्ञप्ति निकाल्दै सक्रिय फुटबल जीवन रोक्ने निर्णय गरेको बताएका छन् ।
'प्रिय फुटबलका साथीहरु । मैले सक्रिय फुटबल जीवन रोक्ने निर्णय गरेको छु । मलाई समर्थन गर्नु भएकोमा सम्पूर्णलाई धन्यवाद,' उनले भनेका छन् ।
रोबिनले ३७ वर्षको उमेरमा २१ वर्षे खेल जीवनलाई अन्त्य गरेका हुन् ।
चेल्सी र रियल मड्रिडका पूर्व खेलाडी समेत रहेका रोबिनले २०१९ मा खेल जीवनबाट सन्यास लिएका थिए । बायर्न छाडेपछि उनले सन्यास घोषणा गरेका थिए ।
तर, सन्यास फिर्ता लिँदै उनी व्यवसायिक फुटबलमा फर्किएका थिए । पछिल्लो सिजन उनले घरेलु क्लब ग्रोनिनजेनबाट खेलेका थिए । करियरको पहिलो क्लबका लागि उनले गत सिजन ७ खेल मात्र खेलेका थिए ।

रोबिनले आफ्नो क्लब करियरमा ६ बढी खेल खेलेका छन् । रोबिनले बयार्नका लागि ३०९ खेलमा १४४ गोल गरेका थिए ।
रोबिनले सन् २०१७ बाट अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए । उनले नेदरल्यान्ड्सका लागि ९६ खेलमा ३७ गोल गरेका थिए ।