एजेन्सी । इटालियन क्लब एसी मिलान फ्रान्सेली स्ट्राइकर ओलिभर जिरौड अनुबन्धनको अन्तिम चरणमा पुगेको छ ।
चेल्सीका स्ट्राइकर जिरौडले आज (बिहीबार) क्लबसँग औपचारिक सम्झौता गर्ने बताईएको छ ।
मिलानका टेक्निकल डिरेक्टर पाउलो माल्दिनीले जिरौड मिलानमा अनुबन्धित हुने पुष्टि गरेका छन् ।
'पक्कै पनि जिरौड बिहीबार आईपुग्ने छन् । ओलिभर च्याम्पियन्स लिगका च्याम्पियन हुन्,' माल्दिनीले भने, 'उनी भरपर्दो खेलाडी हो । हामीलाई ओलिभर जस्तो अनुभवी खेलाडी चाहिएको छ ।'
३४ वर्षीय स्ट्राइकरले मिलानसँग दुई वर्षे सम्झौता गर्ने बताईएको छ ।
फ्रान्सका जिरौडले गत महिना मात्रै चेल्सीसँग एक वर्षको लागि सम्झौता नवीकरण गरेका थिए । तर, उनी सम्झौता नसकिदै इटाली जान लागेका हुन् ।
चेल्सीलाई गत सिजन च्याम्पियन्स लिगको उपाधि दिलाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । चेल्सीका लागि उनले युरोपा लिग र एफए कप समेत जितेका छन् ।
जिरौड सन् २०१८ मा आर्सनलबाट चेल्सी आएका थिए । चेल्सीका लागि उनले १ सय १९ खेलमा ३९ गोल गरेका छन् ।
जिरौड फ्रान्सको विश्वकप विजेता टोलीका सदस्य समेत हुन् ।