एजेन्सी । इंग्लिस क्लब एभर्टनका मुख्य प्रशिक्षक राफायल बेनिटेजले क्लबका लागि आफु लडाई गर्ने बताएका छन् ।
एभर्टनको मुख्य प्रशिक्षक नियुक्त भएपछि पहिलो पटक मिडियासँग कुरा गर्दै बेनिटेजले क्लबमा लागि आफु लड्ने बताएका हुन् ।
'यदि तपाई मुख्य प्रशिक्षक हुनुहुन्छ भने तपाईले जस्तो अवस्थामा पनि क्लबको रक्षा गर्नु पर्दछ,' बेनिटेजले भने,'यस अवस्थामा म क्लबको लागि लड्नेछु । म हरेक खेलमा राम्रो गर्ने कोशिश गर्नेछु । जस्तो टिमसँग पनि प्रतिस्पर्धा गर्नेछु ।'
लिभरपुलका पूर्व प्रशिक्षक समेत रहेका बेनिटेजले एभर्टनसँग तीन वर्षको सम्झौता गरेका छन् । उनी २०२४ सम्म क्लबमा रहने छन् ।
६१ वर्षीय बेनिटेजले अघिल्लो सिजनको भन्दा राम्रो नतिजा ल्याएर समर्थकलाई खुशी पार्ने समेत बताए ।
'मलाई थाहा छ टोलीले गत वर्ष कसरी समाप्त गर्यो र हामी सुनिश्चित गर्न कोशिस गर्छौं कि हामी अझ राम्रो गर्न सक्छौं,' उनले थपे, 'आशा छ की मसँगै समर्थकहरु खुशी हुनेछन् ।'

कार्लो एन्सेलोटीले क्लब छाडेपछि एभर्टन मुख्य प्रशिक्षक विहीन रहेको थियो । एन्सोलोटी एभर्टन छाडेर स्पेनिस क्लब रियल मड्रिड गएका थिए । उनको स्थानमा क्लबले बेनिटेज ल्याएको हो ।
स्पेनिस प्रशिक्षक बेनिटेज चाईनिज सुपर लिग क्लब डालियान प्रोफेशनल एफसी छाडेर बसेका थिए । त्यसअघि उनले न्युकासल युनाईटेडको टिम हेरेका थिए ।
बेनिटेजसँग रियल मड्रिड,लिभरपुल, चेल्सी, इन्टर मिलान, नापोली, भ्यालेन्सिया जस्ता क्लब हेरेको अनुभव समेत रहेको छ ।