एजेन्सी । इटालियन गोलकिपर जियानलुइजी डोनारुम्मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन् ।
२२ वर्षीय गोलकिपर डोनारुम्माले पीएसजीसँग पाँच वर्षको सम्झौता गरेका छन् । सम्झौतासँगै डोनारुम्मा २०२६ को जुन ३० सम्म पीएसजीमा रहने छन् ।
डोनारुम्मा इटालियन क्लब एसी मिलानबाट पीएसजी आएका हुन् । मिलनसँग उनको सम्झौता जुन ३० बाट सकिएको थियो ।
१६ वर्षको उमेरमा डेब्यु गरेका उनले मिलानका लागि २ सय ५१ खेल खेलेका छन् ।
क्लबमा अनुबन्धित भएपछि डोनारुम्माले आफु क्लबबाट उपाधि जित्न चाहेको बताए ।
'यस विशाल क्लबको सदस्य हुन पाउँदा म खुसी छु । म नयाँ चुनौती लिन तयार छु र आफुलाई सुधार्न चाहन्छु,' सम्झौतापछि उनले भने, 'पेरिसमा म जित्न चाहन्छु र समर्थकहरूलाई खुशी पार्न चाहन्छु ।'

डोनारुम्मा १६ औं संस्करणको युरोकप फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।
इटालीलाई युरोकप दिलाउन उत्कृष्ट प्रदर्शन गरेका डोनारुम्मा प्लेयर अफ दि टुर्नामेन्ट चुनिएका हुन् ।
डोनारुम्मा युरोकपमा प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड प्राप्त गर्ने पहिलो गोलकिपर हुन् ।
डोनारुम्माले युरोमा ७ सय १९ मिनेट खेल्दै ३ क्लिन सिट निकालेका थिए । उनले प्रतियोगितामा ४ गोल व्यहोर्दा ९ पटक गोल बचाउ गरेका थिए ।
इटालीका लागि उनले ३३ खेल खेलिसकेका छन् ।