एजेन्सी । सर्जियो रामोसले नयाँ क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग उपाधिबाट धेरै टाढा नरहेको बताएका छन् ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)संग दुई वर्षको सम्झौता गरेका रामोसले पीएसजी पहिलो च्याम्पियन्स लिगको उपाधिबाट धेरै टाढा नभएको बताएका हुन् ।
पीएसजीले फ्रान्सेली लिगमा राम्रो नतिजा आत्मसाथ गरेपनि च्याम्पियन्स लिग अहिलेसम्म जित्न सकेको छैन । युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता हात पार्न कतारी लगानीको पीएसजीले पछिल्लो १० वर्षयता ठुलो रकम खर्च गरेको छ ।
सन् २०२० को च्याम्पियन्स लिगको फाईनलमा पीएसजी बायर्न म्युनिखसंग १–० ले पराजित बनेको थियो ।
रामोस च्याम्पियन्स यात्राका लागि अर्को कदम चाल्न पीएसजी तयार रहेको विश्वास गर्छन् ।
रामोससंग च्याम्पियन्स लिग उपाधिको राम्रो अनुभव छ । करिब १६ वर्ष रियल मड्रिडमा बिताएका रामोसले चार पटक सो उपाधि उचालेका छन् ।
३४ वर्षिया डिफेन्डरका अनुसार पीएसजीसंग च्याम्पियन्स लिगको उपाधिका लागि सबै चिज छ । आफुसंग रहेका लामो अनुभव सो उपलब्धिका लागि काम लाग्न सक्ने रामोस विश्वास व्यक्त गर्छन् ।
‘मैले यस क्लबमा देखेको सबैभन्दा ठुलो कुरा यसको ताकत हो ।’ उनले भने, ‘खेलाडीमा जितको प्यास हो । उनीहरु यस्तो क्लबमा आउन चाहन्छन् ।’
‘उनीहरु पहिल्यै च्याम्पियन्स लिगको फाईनल खेलिसकेका छन् । उनीहरु यसको प्राप्तिका लागि निकै नजिक छन् । त्यसैले मलाई आकर्षित गर्यो ।’ उनले थपे ।
‘यदी मैले केही योगदान गर्न सक्छु भने यसले मलाई हर्षित बनाउनेछ । पाँच पटक आफ्ना लागि र क्लबका लागि पहिलो च्याम्पियन्स लिग जित्ने बारेमा सोच्नु एक सपना पनि हो ।’ रामोसले भने ।
पीएसजी यस सिजन समेत बित्तिय शक्ति निकै लचकतापूर्वक देखाएको छ । पीएसजी फ्रान्सेली लिगमा आफ्नो दबदबालाई निरन्तरता दिन चाहन्छ । उसले गत सिजन लिलीसंग फ्रान्सेली लिग वानको उपाधि गुमाएको थियो । र च्याम्पियन्स लिगको दशकको सपनालाई पुरा गर्न चाहन्छ ।
ईन्टरका डिफेन्डर अचरफ हकिमीलाई महङ्गो मुल्यमा यस सिजन पीएसजीले अनुबन्ध गरेको छ । फ्रान्सेली क्लबले ६० मिलियन पाउण्ड हाकिमीलाई खर्चिएको हो ।
जर्जिन्हो विजनाल्डम लिभरपुलबाट आएका छन् । गोलकिपर जियानलुईगी डोनारुम्मा समेत एसी मिलानबाट पीएसजी आउने अपेक्षा गरिएको छ ।
म्यान्चेष्टर युनाईटेड मिडफिल्डर पाउल पोग्बासंगै लाजियोका फरवार्ड जोकिन कोरियासंग समेत पीएसजी जोडिएको छ ।
पीएसजी बार्सिलोनाको सम्झौताबाट बाहिरिएका मेस्सीलाई समेत अनुबन्ध गर्न सक्ने क्लब मानिएको छ ।