एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (सोमबार) राति बेल्जियमले फिनल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । बेल्जियम र फिनल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा आज बेल्जियम लगातार तेस्रो जितको खोजीमा हुनेछ । समूह 'बी' मा रहेको बेल्जियम यस अघि नै नकआउट चरणमा पुगिसकेको छ ।
तर, बेल्जियम शतप्रतिशत जितसहित समूह विजेता बन्दै अन्तिम १६ को यात्रा तय गर्ने लक्ष्यमा रहेको छ । अघिल्ला दुई खेल जितेको बेल्जियमले ६ अंक जोडेको छ । फिनल्याण्डलाई हराएर बेल्जियम समूह विजेता बन्नेछ ।
पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो । दोस्रो खेलमा बेल्जियमले डेनमार्कलाई २-१ ले हराएको थियो ।
फिनल्याण्ड पनि बेल्जियमलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । अर्को चरणमा पुग्न फिनल्याण्डलाई जित अत्यावश्यक रहेको छ । बराबरीले अर्को खेलको नतिजामा निर्भर हुनु पर्नेछ ।
फिनल्याण्ड २ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा डेनमार्कलाई १-० ले हराएको फिनल्याण्ड दोस्रो खेलमा रुससँग १-० ले नै पराजित भएको थियो ।
प्लेयर्स टु वाच -
केभिन डे ब्रुएना – बेल्जियम
चोटका कारण प्लेमेकर ब्रुएनाले रुसविरुद्धको पहिलो खेल गुमाएका थिए । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर ब्रुएनाले च्याम्पियन्स लिगको फाइनलमा चेल्सीविरुद्ध चोट बोकेका थिए ।
तर, डेनमार्कविरुद्ध भने उनी मैदान फर्किएका थिए । उनले मैदान फर्किएको खेलमै उत्कृष्ट प्रदर्शन गरे ।
डेनमार्कलाई २-१ ले पराजित गर्ने क्रममा उनले एक गोल गर्दा एक गोलका लागि पास उपलब्ध गराएका थिए ।
टोलीका उपकप्तान समेत रहेका ब्रुएना विश्व फुटबलमा अब्बल मिडफिल्डरका रुपमा हेरिन्छ । ब्रुएनाले सन् २०१५ यता सिटीबाट खेलिरहेका छन् । उनले बेल्जियमको उमेर समूहको यू-१८, १९, २१ बाट खेलिसकेका छन् । उनले सिनियर टोलीबाट ८१ खेल खेल्दै २२ गोल गरेका छन् ।
टिमु पुकी -फिनल्याण्ड
टिमु पुकी फिनल्याण्डका अनुभवी खेलाडी हुन् । ३१ वर्षीय स्ट्राइकर अहिले आफ्नो उच्च लयमा रहेका छन् ।
युरोकपको छनोट खेलमा उनले १० खेलमा १० गोल गरेका थिए । तर, जारी प्रतियोगितामा गोल भने गर्न सकेका छैनन् । दुई खेलमा गोल गर्न नसकेपनि उनले विपक्षी डिफेन्डरलाई निकै व्यस्त बनाएका छन् ।
बेल्जियमविरुद्ध पनि उनको प्रदर्शन उच्च रहने अनुमान गरिएको छ । बेल्जियमका डिफेन्डरको टाउको दुखाइको विषय बन्नेछन् पुकी ।
व्यवसायिक फुटबल इंग्लिस क्लब नर्विच सिटीबाट खेलिरहेका पुकीसँग शाल्के, सेभिया जस्ता टोलीबाट खेलेको अनुभव छ । टिमु पुकीले फिनल्याण्डको यू-१५, १६, १७, १८, १९, २१ सहित राष्ट्रिय टोलीबाट खेलेका अनुभव छ ।
पुकीले राष्ट्रिय टोलीबाट ९२ खेल खेल्दै ३० गोल गरेका छन् । पुकी उत्कृष्ट फिनिसिङसँगै पेनाल्टी प्रहार गर्न र लामा सट प्रहार गर्न माहिर छन् ।