एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा स्पेन बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको समूह चरणको दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको हो ।
सेभियामा सुरुवाती अग्रता जोगाउन र पेनाल्टीमा गोल गर्न नसक्दा स्पेनले अंक बाड्नु परेको हो ।
खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । उनले जेरार्ड मोरेनोको पासलाई सदुपयोग गरे ।

तर, खेलको ५४ औं मिनेटमा कप्तान रोबर्टो लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई १-१ गोलको बराबरीमा फर्काए । उनले कामीलको पासमा हेडरमार्फत उत्कृष्ट गोल गरेका हुन् ।
यस्तै खेलको ५८ औं मिनेटमा स्पेनले पेनाल्टीमा गोल गर्ने अवसर पायो । तर, जेरार्ड मोरेनोले गोल गर्न सकेनन् । उनको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो ।

यससँगै समूह 'ई’ को स्पेनले लगातार दोस्रो खेलमा बराबरी खेलेको छ । समूहको तेस्रो स्थानमा रहेको स्पेनले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेलेको थियो ।
पोल्याण्डको भने यो पहिलो अंक हो । पोल्याण्ड २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ । पहिलो खेलमा पोल्याण्ड स्लोभाकियासँग २–१ ले पराजित भएको थियो ।

