एनआरटीसंग अंक बाडेपछि आर्मीका प्रशिक्षक नविन भन्छन्, 'सोचेजस्तो भएन, हामीलाई गार्हो हुनेछ'

काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नविन न्यौपानेले पल्सर सहिद स्मारक 'ए' डिभिजन लिगको पहिलो खेल सोचे जस्तो नभएको बताएका छन् ।
शनिबार भएको उद्घाटन खेलमा उपाधि दाबेदार आर्मीले न्युरोड टिम एनआरटीसंग २ - २ गोलको बराबरी खेलेको थियो ।
खेलपछि पोस्ट म्याच कन्फरेन्समा प्रशिक्षक न्यौपानेले भने, 'सोचेको जस्तो हुन सकेन । अन्तिम समयमा १ अंक आयो । हामीलाई लिगमा यस अंकले गाह्रो पर्नेछ ।'
खेलको इन्जुरी समयमा सन्तोस तामाङले गोल गरेपछि आर्मीले एनआरटीसंग बराबरी खेलेको थियो । राष्ट्रिय टोलीका चार खेलाडीसहित मैदान उत्रेको आर्मीलाई एनआरटीले कडा टक्कर दिएको थियो ।
तर, प्रशिक्षक न्यौपानेले ३ अंक प्राप्त गर्ने लक्ष्यसहित मैदान उत्रेको बताउदै अंक गुमाउनु पर्दा लिग आर्मीलाई कठिन हुने बताएका हुन् ।
'यो सुरुवात हो । जसरी हामीले अंक प्राप्त गर्नुपर्ने हो त्यो भएन । तर, हामी अन्तिम समयमा सफल भयौ,' प्रशिक्षक न्यौपानेले भने ।












