देउरालीको पहिलो जितमा मिलनको २ गोल
शुक्रबार, कार्तिक २२, २०८२खेलपाटी संवाददाता

काठमाडौं। मिलन लिम्बूको २ गोलसँगै देउराली युथ क्लबले एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित हात पारेको छ।
हेटौंडास्थित गौरिटार रंगशालामा शुक्रबार सम्पन्न खेलमा देउरालीले जनजागृति युवा क्लबलाई ३–१ ले पाखा लगाएको हो। देउरालीको जितमा मिलनबाहेक उज्वल राईले १ गोल थपे। जनजागृतका शम्भु थारुले सान्त्वना गोल फर्काए।
जितसँगै देउरालीले ३ अंक जोडेको छ। पहिलो खेलमा चित्लाङ फुटबल क्लबले देउरालीलाई ४–१ ले हराएको थियो। जनजागृतिको भने यो पहिलो खेल हो।
पहिलो मिनेटमै शम्भुले गोल गर्दै जनजागृतिलाई सुरुआती अग्रता दिलाएका थिए। तर, त्यसपछि देउरालीले खेलमा पुनरागमन गर्यो।
मिलनले १० र ४४औं मिनेटमा गोल गर्दै खेलमा २–१ को अग्रता दिलाए। ८९औं मिनेटमा उज्जवलले अर्को गगोल गर्दै देउरालीलाई ३–१ को सहज जित दिलाए।













