नेपालसँग खेल्नुअघि क्लबसँगै हार्यो बंगलादेश
शुक्रबार, कार्तिक २२, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालसँग मैत्रीपूर्ण खेल खेल्न लागेको बंगलादेशको राष्ट्रिय फुटबल टोली अभ्यास खेलमा शीर्ष डिभिजन क्लबसँग पराजित भएको छ।
शुक्रबार भएको अभ्यास खेलमा फोर्टिस एफसीले राष्ट्रिय टोलीलाई १–० ले पराजित गरेको हो। फोर्सिटले शीर्ष डिभिजनको बंगलादेश प्रिमियर लिग खेल्दै आएको छ।
यो क्लबमा नेपाली डिफेन्डर अनन्त तामाङ पनि अनुबन्धित छन्। तर, उनी राष्ट्रिय टोलीको क्लोज क्याम्प लागि स्वदेशमै छन्।
बंगलादेशले नोभेम्बर १३ मा किङ्स एरिनामा एक मैत्रीपूर्ण खेल खेल्दै छ। नेपालले गत सेप्टेम्बरमा घरेलु मैदानमा बंगलादेशसँग २ मैत्रीपूर्ण खेल राखेको थियो।
६ सेप्टेम्बरमा भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो। ९ सेप्टेम्बरमा तल भएको अर्को खेल भने जेनजी आन्दोलनका कारण एक दिन अगाडि नै रद्द भएको थियो।











