फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले खेल्न पाउने अधिकारका लागि नेपाल फुटबल खेलाडी संघले सुरु गरेको आन्दोलनमा समर्थन जनाएको छ।
फुटबल खेलाडीको रोजीरोटीसँग जोडिएको ‘ए’ डिभिजन लिग सम्पन्न भएको करिब डेढ वर्ष बितिसक्दा पनि नयाँ संस्करण सुरु हुन नसकेको भन्दै बिहीबार खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यालय अगाडि प्रदर्शन गरेको थियो।
सो आन्दोलनप्रति एनएनआईपीएले पूर्ण एकता र समर्थन जनाएको हो। ‘फुटबल खेलाडीको रोजीरोटीसँग जोडिएको ए डिभिजन लिग यति लामो समयदेखि रोकिँदा सयभन्दा बढी खेलाडी रोजगारीका लागि विदेशिन बाध्य भएका छन्। खेल्न पाउनु खेलाडीको अधिकार हो भने खेल आयोजना गर्नु सम्बन्धित संघको दायित्व हो,’ एनएनआईपीएले भनेको छ।
एनएनआईपीएले एन्फाको दायित्वबाट च्युत हुनु लज्जाजनक भएको बताएको छ। त्यसैले समस्या समाधानका लागि एन्फा नेतृत्वलाई गम्भीर हुन आग्रह गरेको छ। ‘खेल आयोजनाका लागि आफ्नै संघविरुद्ध उत्रनुपर्ने अवस्था सिर्जना हुनु खेल क्षेत्रका लागि दुःखद हो। एन्फाले शीघ्र पहल गरी लिग सञ्चालन गर्ने वातावरण तयार पार्नुपर्छ,’ एनएनआईपीएले भनेको छ।
एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठले फुटबल खेलाडीले आफ्नो हकका लागि सञ्चालन गर्ने सबै प्रकारका आन्दोलन र विरोध कार्यक्रममा संघ एकताबद्ध रूपमा साथ रहने बताए।







-1762154705887.png&w=3840&q=75)







