एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार)पोर्चुगलले हंगेरीसँग प्रतिस्पर्धा गर्दैछ ।
साविक विजेता समेत रहेको पोर्चुगलले हंगेरीसँग उसैको मैदान पुस्कास एरिनामा प्रतिस्पर्धा गर्नेछ । पोर्चुगल र हंगेरीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
समूह 'एफ' मा रहेको पोर्चुगल आज सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रनेछ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा मैदान उत्रने पोर्चुगललाई युरोपियन फुटबलमा कहलिएका खेलाडीहरुको साथ रहने छ ।
ग्रुप अफ डेथ मानिएको समूहमा रहेको पोर्चुगलका लागि हंगेरीसँगको पहिलो खेल महत्वपूर्ण समेत रहेको छ । अघिल्लो संस्करणको साख जोगाउन पनि पोर्चुगललाई जित्नै पर्ने दबाब रहेको छ ।
'पक्कै पनि हामी दाबेदार हौँ । यदि समूह चरण पार गर्दैनौं भने हाम्रो असफलता हुनेछ,' हंगेरीसँगको खेलअघि पोर्चुगिज प्रशिक्षक फर्नान्डो सान्तोस भन्छन्, 'तर, मलाई विश्वास छैन कि पोर्चुगलको त्यसो हुन्छ । पोर्चुगल जित्न चाहन्छ । सबैको जित्ने महत्वकांक्षा हुन्छ ।'

सन् २०१६ मा फ्रान्समा आयोजना भएको युरोमा आयोजक फ्रान्सलाई हराएर पोर्चुगलले पहिलो पटक उपाधि जितेको थियो । त्यसपछि पोर्चुगलले नेसन्स लिगको उपाधि जितेको छ ।
तर, हंगेरीलाई उसैको मैदानमा हराउँन पोर्चुगलका लागि सहज भने हुने छैन । हंगेरी पनि पहिलो खेलमा ठुला टिमलाई स्तब्ध बनाउने योजनामा रहेको छ ।
'हामीलाई थाहा छ हाम्रोविरुद्ध को छ । तर, हामी हाम्रो सपनाहरु प्राप्त गर्न चाहन्छु । सपना निशुल्क छ त्यसैले हामी सपना देख्ने गर्छौं,' पोर्चुगलसँगको खेल अघि हंगेरीका प्रशिक्षक मार्को रोसी भन्छन्,'आशा छ युरोमा सपना जारी रहन्छ ।'
मुख्य प्रतियोगितामा दुई टिमबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । सन् २०१६ को भेटमा दुई टोलीले ३-३ गोलको बराबरी खेलेका थिए ।
हंगेरीविरुद्ध मैदान उत्रदा पोर्चुगलका कप्तान रोनाल्डो ३६ र डिफेन्डर पेपे ३८ वर्षका हुनेछन् । म्यानचेस्टर सिटीबाट खेल्दै आएका युवा डिफेन्डर जोआ कान्सेलो कोरोना संक्रमणको कारण टिम बाहिर रहने छन् । उनको स्थानमा डिएगो डालोट टोलीमा जोडिएका छन् ।

प्लेयर्स टु वाच :
डिएगो जोटा
पोर्चुगलका युवा स्ट्राइकर डिएगो जोटा हंगेरीविरुद्ध प्रभावशाली प्रदर्शन गर्न सक्छन् । प्रशिक्षक सान्तोसको रणनीतिमा जोटा मुख्य खेलाडी हुनेछन् ।
हंगरीविरुद्ध रोनाल्डो मुख्य केन्द्रमा रहेपनि सबैको नजर जोटामाथि रहनेछन् । किनकि जोटालाई पोर्चुगलका भविष्यको रुपमा हेरिएको छ ।
२४ वर्षीय जोटा व्यवसायिक फुटबल इंग्लिस क्लब लिभरपुरबाट खेल्ने गर्छन् । उनीसँग एट्लेटिको मड्रिड, पोर्टो लगायतका क्लबबाट खेलेको अनुभव समेत छ । जोटाले पोर्चुगलको उमेर समूह अन्तर्गत यू–१९, २१ र २३ बाट खेलेका छन् । सिनियर टोलीबाट जोटाले १४ खेल खेल्दा ६ गोल गरिसकेका छन् ।

विलि ओर्बान
विलि उमेर समूहको अन्तराष्ट्रिय फुटबल जर्मनीबाट खेलेका खेलाडी हुन् । उनले जर्मनीको यू-२१ टिमबाट खेलेका थिए । तर, सिनियर टिमबाट भने उनले हंगेरीबाट खेलिरहेका छन् ।
जर्मनीमा जन्मिएका २८ वर्षीय ओर्बानले हंगेरीबाट २१ खेल खेल्दा ५ गोल गरिसकेका छन् ।
ओर्बान जर्मन क्लब आरबीलाईपजिगबाट व्यवसायिक फुटबल खेल्ने गर्छन् ।
पोर्चुगिज टिमको आक्रमणलाई रोक्न हंगेरीले सेन्टर ब्याक ओर्बानलाई अघि सार्ने छ । उनी विपक्षी खेलाडीलाई रोक्नु र गोल गर्न माहिर मानिन्छन् ।