रेफ्रीको निर्णयमा एनआरटी प्रशिक्षकको असन्तुष्टि

काठमाडौं । कम्तीमा आर्मीले रेफ्री सुदिस पाण्डेलाई धन्यवाद दिनपर्छ ।
उनकै विवादास्पद निर्णयका कारण आर्मीले सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा न्युरोड टिम एनआरटीसंग बराबरी खेल्न सफल भएको छ ।
लिगको पहिलो खेल रोमाञ्चक रह्यो । खेल अवधिभर ४ गोल भयो । खेलले अन्तिम मिनेटसम्म बाधेर राख्यो ।
कागजमा सही, एनआरटी भन्दा आर्मी निकै बलियो थियो । तर आर्मीले नाम अनुसारको खेल मैदानमा देखाउन सकेन । स्टार खेलाडी चल्नै नसकेपछि आर्मीले लिगको पहिलो खेलमा कमजोर मानिएको एनआरटीसंग बराबरी खेल्दै अंक बाड्यो ।
३८ औ मिनेटमा सुदिस पाण्डेले आर्मीलाई पेनाल्टीको अवसर दिएका थिए । त्यही गोलमार्फत आर्मीले खेल १–१ को बराबरीमा ल्याएको थियो ।
त्यसपछि खेलको अन्तिम मिनेटमा गोलकिपर अजित प्रजापतिले धेरै समय बल हातमा होल्ड गरेको भन्दै आर्मीलाई डिबक्सभित्र फ्रिकिक दिए । त्यसमा समेत सन्तोष तामाङ गोल गर्न चुकेनन् ।
खेलपछि एनआरटीका प्रशिक्षक महेश्वर मुल्मीले रेफ्रीको निर्णयप्रति कडा आपत्ती जनाए । आफ्नो रणनीति सफल भएको दाबी गर्दै उनले आर्मी जस्तो टिमलाई गोल हान्नु र रोक्नु ठुलो कुरा भएको बताए ।
‘रेफ्रीको निर्णय चित्त बुझेन । नेपालका रफ्री कामै लाग्दैनन् ।’ रेफ्रीको निर्णयमा आपत्ति जनाउदै मुल्मीले भने, ‘डिफेन्सिफ खेलेर काउन्टर अट्याकमा गोल गर्ने रणनीति थियो । त्यो सफल भयो ।’
क्लबमा अनुभवी खेलाडी नभएको बताउदै प्रशिक्षक मुल्मीले उमेर समुहका खेलाडीले उत्कृष्ट प्रर्दशन गरेको बताए ।
‘बिहिबार मात्र धेरै खेलाडी टिममा आएका हुन् । त्यसमा धेरै १९, २० उमेरका छन् । धेरैले लिग समेत खेलेका छैनन् ।’ उनले भने, ‘तर आर्मी जस्तो टोलीलाई टक्कर दिनु ठुलो कुरा हो ।’












