एजेन्सी । चेक रिपब्लिकले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।
सोमबार भएको खेलमा स्कटल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै चेक रिपब्लिकले सुखद सुरुवात गरेको हो ।
ह्याम्पडेन पार्कमा चेक रिपब्लिकलाई जित दिलाउन प्याट्रिक शिकले दुई गोल गरे ।
खेलको ४२ औं मिनेटमा प्याट्रिकले हेडरमार्फत गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५२ औं मिनेटमा स्कटल्याण्डका गोलकिपर डेभिड मार्सल अघि बढेको स्थितिमा प्याट्रिकले व्यक्तिगत दोस्रो गोल गर्दै चेक रिपब्लिकलाई २-० को जित दिलाए ।

खेलमा स्कटल्याण्डले पनि गोलको केहि अवसर बनाएको थियो । तर, स्कटल्याण्डले पाएको मौकालाई सदुपयोग गर्न सकेन ।
यस जितसँगै समूह 'डी’ को चेक रिपब्लिकले महत्वपूर्ण ३ अंक जोडेको छ । चेक रिपब्लिक शीर्ष स्थानमा रहेको छ ।
स्कटल्याण्डले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । स्कटल्याण्ड समूहको पुछारमा रहेको छ ।
यस समूहमा इंग्ल्यान्ड ३ अंक जोडेर दोस्रो र क्रोएसिया अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ ।
