एनआरटी र आर्मीको बराबरी

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिगको उद्घाटन खेलमा उपाधि दाबेदार टिम त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ ।
शनिबार भएको उद्घाटन खेलमा ४ राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको आर्मी एनआरटीसंग २ - २ गोलको बराबरीमा रोकिएको हो ।
सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा अन्तिम समयमा गोल गर्दै आर्मीले एनआरटीसंग बराबरी खेलेको हो ।
एनआरटीका लागि रोजित पुडासैनी र राजेश परियारले एक एक गोल गरे । आर्मीका दुवै गोल सन्तोस तामाङले गरे ।
निकै रोमान्चक बनेको खेलको १२ औं मिनेटमा रोजितले गोल गर्दै एनआरटीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा सन्तोसले पेनाल्टीमा गोल गर्दै आर्मीलाई खेलमा फर्काएका थिए ।
दोस्रो हाफको ६४ औं मिनेटमा राजेशले उत्कृष्ट गोल गर्दै एनआरटीलाई २ - १ को अग्रता दिलाए । राजेशले मध्य भागबाट एक्लै बल अघि बढाएर गोल गरेका थिए ।
तर, खेलको इन्जुरी समयमा सन्तोसले गोल गर्दै खेल २ - २ को बराबरीमा ल्याए । एनआरटीका गोलरक्षकले अजित प्रजापतिले बढी समय बल होल्ड गरेपछि रेफ्री सुदिश पान्डेले आर्मीलाई इनडाइरेक्ट फ्रिकिक दिएका थिए ।
उक्त फ्रिकिकमा एरिक विष्टले उपलब्ध गराएको वन टच पासमा सन्तोसले उत्कृष्ट गोल गर्दै आर्मीलाई हारबाट जोगाएका हुन् । खेलमा आर्मीका उत्कृष्ट प्रहारहरु बचाएका अजित म्यान अफ दि म्याच चुनिए ।
बराबरीसंगै दुवै टाेलीले समान १-१ अक बाँडेका छन् । लिग अन्तर्गत आइतबार संकटा क्लब र सरस्वती युथ क्लबबीच खेल हुनेछ ।












