एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (आइतबार) इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ ।
युरोपका दुई ठुला टिम इंग्ल्यान्ड र क्रोएसिया लण्डनस्थित वेम्बली स्टेडियममा प्रतिस्पर्धा गर्ने छन् । घरेलु टिम र क्रोएसियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
समूह 'डी’ मा रहेको इंग्ल्यान्ड र क्रोएसिया जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा हुनेछन् । दुबै टिमलाई फाइनल पुग्ने टिमको रुपमा हेरिएको छ ।
यस खेलको प्लेयर्स टु वाचमा इभान पेरिसिच र रहिम स्ट्रर्लिङ रहेका छन् ।
इभान पेरिसिच (क्रोएसिया)
विंगर पेरिसिच अन्तराष्ट्रिय फुटबलमा चर्चित नाम हो । सन् २०१८ विश्वकपमा क्रोएसिया उपविजेता बन्दा उनको महत्वपूर्ण भूमिका रहेको थियो । ३२ वर्षीय इभानले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध गोल र गोलका लागि पास समेत उपलब्ध गराएका थिए ।
इभान इटालियन क्लब इन्टर मिलानसँग अनुबन्धित छन् । तर, पछिल्लो सिजन भने लोनमा जर्मन च्याम्पियन बायर्न म्युनिखबाट खेलेका थिए । इभानसँग उमेर समूहको यू-१७, १९, २१ सहित राष्ट्रिय टोलीबाट खेलेका अनुभव छ ।
राष्ट्रिय टोलीबाट इभानले १०१ खेलमा २८ गोल गरेका छन् । अनुभवी खेलाडी इभानसँग जर्मन, इटालीको घरेलु लिगमा गरेको प्रदर्शनको उच्च स्तरको अनुभव रहेको छ ।
रहिम स्ट्रर्लिङ (इंग्ल्यान्ड)
इंग्लिस क्लब म्यानचेस्टर सिटीका अट्याकिङ मिडफिल्डर रहिम स्टर्लिङ विश्वकप उपविजेता क्रोएसियाविरुद्ध प्रभावकारी बन्न सक्छन् । उमेर समूह होस् या सिनियर टोलीमा स्टर्लिङको प्रदर्शन उत्कृष्ट रहदै आएको छ ।
जमैकामा जन्मिएका स्टर्लिङ त्यसपछि लण्डन सरेका हुन् । क्विन्स पार्क रेन्जर्सबाट फुटबल सुरु गरेका स्टर्लिङ त्यसपछि लिभरपुलमा आबद्द भएका थिए । लिभरपुलमा रहँदा गोल्डेन ब्वाई अवार्ड पाएका स्टर्लिङ त्यसपछि सिटी आएका हुन् । स्टर्लिङ सिटीले तीन पटक प्रिमियर लिगको उपाधि हात पार्दाका महत्वपूर्ण खेलाडी हुन् ।
स्टर्लिङले इंग्ल्यान्डको यू-१६, १७,१९, २१ टिमबाट समेत खेलिसकेका छन् । राष्ट्रिय टोलीबाट ६१ क्याप जितेका स्टर्लिङले १४ गोल गरेका छन् । बल पकड राख्न, पास उपलब्ध गराउन र लामा प्रहार गर्न माहिर स्टर्लिङ क्रोएसियाका लागि टाउको दुखाईको विषय बन्न सक्ने छन् ।