एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (आइतबार) इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ ।
युरोपका दुई ठुला टिम इंग्ल्यान्ड र क्रोएसिया लण्डनस्थित वेम्बली स्टेडियममा प्रतिस्पर्धा गर्ने छन् । घरेलु टिम र क्रोएसियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
युरोको समूह 'डी' मा रहेको इंग्ल्यान्ड र क्रोएसिया जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा हुनेछन् । दुबै टिमलाई फाइनल पुग्ने टिमको रुपमा हेरिएको छ । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
इंग्ल्यान्ड सन् १९६६ पछि प्रमुख प्रतियोगिताको फाइनलमा पुग्न सकेको छैन । १९६६ मा इंग्ल्यान्डले फिफा विश्वकपको उपाधि जितेको थियो ।
क्रोएसिया भने सन् २०१८ को विश्वकपमा फाइनल पुगेको थियो । क्रोएसिया यस युरोमा विश्वकपको प्रदर्शन कायमलाई राख्न चाहन्छ ।
विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डले क्रोएसियासँग खेलेको थियो । जुन खेल क्रोएसियाले २-१ ले जितेको थियो ।
तर, घरेलु मैदानमा इंग्ल्यान्ड त्यो हारको बदला लिन चाहन्छ ।
'मस्कोमा हामी पक्की निराश भएका थियौं । उनीहरु अनुभवी टिम र राम्रा खेलाडी भएकाले हामीलाई कठिन छ,' मुख्य प्रशिक्षक ग्यारेथ साउथगेट भन्छन्, 'तर, हामीलाई थाहा छ की उनीहरुलाई हराउँन सक्छौं ।'

घरेलु टिमविरुद्ध क्रोएसिया पनि डररहित खेल्न चाहन्छ । त्यसका लागि बलियो टिम मैदान उतार्ने मुख्य प्रशिक्षक जलाट्को डालिचले बताईसकेका छन् ।
'हामी यस खेलका लागि बलियो टिम छनोट गर्ने छौँ । हामीसँग राम्रा खेलाडी छन् । हामी डराउने छैनौँ,' उनले भनेका छन्, 'हामीलाई थाहा छ इंग्ल्यान्ड तीव्र र आक्रामक खेल्छ । उनीहरुसँग उत्कृष्ट खेलाडी छन् । उनीहरुलाई रोक्दै हामी आक्रमण गर्ने प्रयास गर्छौं ।'
इंग्ल्यान्डले क्रोएसियासँग १० पटक खेलेको छ । जसमा इंग्ल्यान्ड ५ खेलमा विजयी भएको छ । तीन खेल क्रोएसियाले जित्दा दुई खेल बराबरीमा सकिएको छ ।
रुस विश्वकपपछि दुई टोलीले नेसन्स लिगमा दुई खेल खेलेका थिए । पहिलो भेट गोलरहित बराबरीमा सकिएको थियो । तर, वेम्बलीमै भएको दोस्रो भेटमा इंग्ल्यान्ड २-१ ले विजयी भएको थियो ।
क्रोएसियाविरुद्ध इंग्ल्यान्डका डिफेन्डर ह्यारी मग्वाएर र मिडफिल्ड र जोर्डन हेण्डरसनले खेल्ने सम्भावना कम रहेको छ ।
क्रोएसियाको टिम पूर्ण रुपमा फिट रहेको छ । क्रोएसियालाई चोटले सताउने छैन ।