काठमाडौं । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पहिलो हाफमा गरेकाे एक गल्तीले जाेर्डनविरुद्धकाे खेलको नतिजा फरक आएको बताएका छन् ।
विश्वकप छनोट अन्तर्गत जोर्डनविरुद्धको खेलपछि प्रशिक्षक अलमुताइरीले पहिलो हाफमा गरेको एक मात्र गल्तीले नतिजा फरक परेकाे बताएका हुन् ।
विश्वकप छनोट अन्तर्गत सोमबार भएको जोर्डनविरुद्धको खेलमा नेपाल ३–० ले पराजित बनेको थियो । पहिलो लेगमा समेत ३–० ले पराजित नेपालले दोस्रो लेगमा समेत सोही नतिजा आत्मसाथ गरेको हो ।
‘हामीले राम्रो खेल्यौ । पहिलो हाफमा एउटा मात्र गल्ती गर्यौ । त्यो गल्ती नगरेको भए सायद खेलको नतिजा फरक हुने थियो होला । हामीले गरेको गाल्ती जोर्डनका लागि उपहार जस्तै भयो ।’ प्रशिक्षक अलमुताइरीले भने ।
‘पहिलो हाफमा गरेको एउटा गल्तीका कारण जोर्डनले विश्राम लिएर खेल्न पायो ।’ उनले भने ।
खेलको २३ औं मिनेटमा जोर्डनले पेनाल्टी पाएको थियो । पेनाल्टी क्षेत्रको दायाँ भागमा डिफेन्डर रोहित चन्दले जोर्डनका खेलाडीलाई लडाएपछि रेफ्रीले पेनाल्टीको इसारा गरेका थिए । सोही पेनाल्टीमा गोल गर्दै जोर्डनले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।
प्रशिक्षक अलमुलाइरीले हारको सम्पूर्ण जिम्मेवारी आफुले लिने बताएका छन् । उनले नेपाली समर्थकलाई हारको दोष खेलाडीलाई नदिन आग्रह गरेका छन् ।
उनले यस खेलमा राम्रो खेलेको दाबी गर्दै आउने खेलमा अझ सुधारिएको प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
प्रशिक्षक अलमुताइरीले अष्ट्रेलियाविरुद्धको खेलमा पनि नेपालले सन्तुलित खेल खेल्ने बताए ।
कुवेतले रक्षात्मक खेल खेल्दा पनि अष्ट्रेलियासँग ३–० को हार बेहोरेकाले भन्दै उनले आफुले त्यस्तो हार नचाहने बताए ।