काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार चेम्जोङले इराकविरुद्धको खेलका लागि टिम तयार रहेको बताएका छन् ।
इराकसँगको खेल अघि बोल्दै कप्तान किरणले टिम खेलका लागि तयार रहेको बताएका हुन् ।
'हामीले राम्रो तयारी गरेका छौँ र यसका लागि तयार छौँ,' किरणले भने ।
नेपालले घरेलु टिम इराकविरुद्धको भोलि (शनिबार) मैत्रीपूर्ण खेल खेल्दैछ ।
बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।
यस्तै कप्तान किरणले इराक जस्तो टिमसँग खेल्न पाउनु नेपालका लागि ठुलो अवसर भएको बताए ।
'इराकविरुद्ध खेल्नु हाम्रो लागि ठुलो अवसर हो । यो कुवेतमा हुने विश्वकप छनोटका लागि राम्रो अनुभव हुनेछ,' कप्तान किरणले थपे ।
विश्वकप छनोटको तयारीका लागि नेपालले फिफा वरीयतामा माथिल्लो स्तरको इराकविरुद्ध खेल्न लागेको हो ।
इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोलि विश्वकप छनोटका लागि कुवेत जानेछन् ।
छनोटमा नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।
अब नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।