एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा यस सिजन बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्की सर्वाधिक गोलकर्ता बनेका छन् ।
च्याम्पियन टिम बायर्नका फरवार्ड लेवान्डोस्की यस सिजन ४१ गोल गर्दै बुन्डेसलिगाका सर्वाधिक गोलकर्ता चुनिएका हुन् ।
लिगको अन्तिम खेलमा शनिबार अग्स्बर्गविरुद्ध एक गोल गर्दै उनले आफ्नो गोल संख्या ४१ पुर्राएका हुन् ।
पोल्याण्डका ३२ वर्षे फरवार्ड लेवान्डोस्कीले यस सिजन २९ खेलमा ४१ गोल पूरा गरेका हुन् । उनले ७ असिस्ट समेत गरेका छन् ।
यससँगै लेवान्डोस्कीले एकै सिजन बुन्डेसलिगामा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।
लेवान्डोस्कीले बायर्नका लिजेण्ड खेलाडी गर्ड मुलरको कीर्तिमान भङ्ग गरेका हुन् ।
मुलरले सन् १९७१/७२ को सिजन ४० गोल गर्दै कीर्तिमान बनाएका थिए ।

उनले यस सिजन बायर्नलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।
लेवान्डोस्की लगातार चौंथो वर्ष सर्वाधिक गोलकर्ता चुनिएका हुन् । यस्तै उनले समग्रमा छैटौं पटक सर्वाधिक गोलकर्ताको अवार्ड जितेका हुन् ।
