काठमाडौं । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले गत साता फिफा विश्वकप तथा एसियन छनोट अन्तर्गत बाँकी रहेको ३ खेल र इराकसँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरे ।
तर, प्रशिक्षक अलमुताईरीले घोषणा गरेको २३ सदस्सीय टिममा नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन काठमाडौं रेजर्सका कुनै पनि खेलाडीले स्थान पाएनन् ।
घरेलु भूमिमा आयोजना भएको थ्री नेसन्स कप खेलेका ५ खेलाडी काठमाडौं रेजर्समा रहेका थिए । तत्कालिन प्रशिक्षक बाल गोपाल महर्जनले थ्री नेसन्स कपमा काठमाडौंका ३ खेलाडीलाई डेब्यु गराएका थिए । थ्री नेसन्स कपको उपाधि हात पार्दा संजोक राई, त्रिदेभ गुरुङ र छिरिङ गुरुङलाई प्रशिक्षक महर्जनले डेब्यु गराएका थिए ।
प्रशिक्षक अलमुताईरीले भने उनीहरु पाँचै खेलाडीलाई बाहिर राख्दै टिम घोषणा गरे । नियमित सदस्य रहेका तेज तामाङ र विकेश कुथु समेत टिममा नपरेपछि आम समर्थकले प्रशिक्षक अलमुताईरीको विरोध समेत गरे ।
आम सामर्थक, एन्फा पदाधिकारी र मिडियाले समेत आलोचना गरेपछि निराश बनेका प्रशिक्षक अलमुताईरीले बिहीबार पाँच खेलाडी टिममा नपर्नुको कारणबारे स्पष्ट पारेका छन् । अलमुताईरीले काठमाडौंका खेलाडीमा थकान र चोट रहेको कारण टोलीमा समावेश नगरेको बताए ।
‘खेलाडीमा चोट र थकान छ । विकेश कुथु धेरै थकित छन् । उनले सिल्लि मिष्टेक पनि गरिरहेका छन् । तेज घाईते छन् । हातमा चोट छ । संजोकको लिगामेन्टको समस्या छ ।’ प्रशिक्षक अलमुताईरीले भने ।
एनएसएल अन्तर्गत धनगढीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि हात पर्दा तेजले ह्याम्सट्रिङको चोट बोकेका थिए । यस्तै संजोकले भने लिगामेन्टकै समस्या कारण पहिलो प्लेअफमा धनगढीविरुद्ध ६० मिनेटमा मैदान छाडेका थिए । उनी फाइनल सहित एलिमिनेटरमा ललितपुरविरुद्ध मैदान उत्रेका थिएनन् । यता, त्रिदेभ भने प्रतियोगिता अघिनै चोट बोक्दा उनको स्थानमा छिरिङले स्थान बनाएका थिए ।

प्रशिक्षक अलमुताईरीले संजोकको चोट खतरनाक रहेको बताउँदै उनी एक महिनाभित्र मैदान फर्किए फुटबलबाट टाढा रहने प्रतिक्रिया दिए ।
‘संजोकले एक महिना बल खेले भने कहिल्यै फुटबल खेल्न सक्दैनन् । उनले रेष्ट लिनुपर्छ ।’ उनले भने । अलमुताईरीले काठमाडौंका लेफ्ट ब्याक विश्वास श्रेष्ठ राम्रो खेलाडी भएता पनि उनमा केहि समस्या देखेको बताए ।
प्रशिक्षक अलमुताईरीले काठमाडौंसँग आफ्नो कुनै समस्या नरहेको र प्रशिक्षक, ब्यवस्थापक र सबैप्रति आफुले सम्मान गर्ने बताए ।
‘काठमाडौं रेजर्ससँग मेरो कुनै समस्या छैन । म सम्मान गर्छु प्रशिक्षक बालगोपाल महर्जन, म सम्मान गर्छु टिम ब्यवस्थापक र सबैलाई ।’ प्रो लाईसेन्स प्राप्त प्रशिक्षक अलमुताईरीले भने ।
नेपालले जेठ १५ गते इराकसँग बसरा अन्तराष्ट्रिय मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ ।
इराकसँगको मैत्रीपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ । छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्न बाँकी रहेको छ ।
कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।
नेपाली टिम जुन १२ मा स्वदेश फर्किने छन् ।
प्रशिक्षक अलमुताईरीले अनुभवी खेलाडी बाहिर राखेर युवा खेलाडीलाई अवसर दिँदा आफुनै विवादमा परेको जनाउँदै नयाँ खेलाडीले ढिला चाडो उपलब्धि गर्ने र परिवर्तनको लागि जोखिम लिनुपर्ने बताए ।
‘अनुभवी खेलाडी बाहिर राखेर नयाँ किन ? भन्ने छ । परिवर्तन गर्नुछ भने जोखिम लिनुपर्छ । यी खेलाडीबाट आज रिजल्ट नआएपनि पछि आउनेछ ।’ उनले भने ।
प्रशिक्षक अलमुताईरीले आफुलाई समर्थन नगरेपनि खेलाडीलाई र अफिसियललाई समर्थन गर्न आग्रह गरे ।
‘सपोर्ट गर्नूस् नेपाली टिमलाई, सपोर्ट गर्नुस् खेलाडीलाई । म धेरै दुखि छु,' उनले थपे, 'तपाईले(मिडिया, समर्थक)सबै खेलाडीलाई गर्नुहोस् । अफिसियललाई सपोर्ट गर्नुस् तर मलाई सपोर्ट नगर्नुस् ।’