एजेन्सी । युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो युरोपको शीर्ष तीन लिग र लिग कपको उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् ।
बुधबार राति कोपा इटालियाको उपाधि जितेपछि रोनाल्डोले फरक तीन राष्ट्रको लिग र लिग कप उपाधि जित्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
रोनाल्डोले पहिलो पटक कोपा इटालियाको उपाधि जितेका हुन् । बुधबार राति भएको फाइनलमा युभेन्ट्सले एट्लान्टालाई २-१ ले हराएको थियो ।
३६ वर्षीय रोनाल्डोले यसअघि स्पेन र इंग्ल्यान्डमा लिग र लिग कपको उपाधि जितेका थिए ।

इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडबाट रोनाल्डोले प्रिमियर लिग र एफए कप जितेका थिए ।
यस्तै स्पेनिस क्लब रियल मड्रिडबाट रोनाल्डोले ला लिगा र कोपा डेल रे जितेका थिए ।
रोनाल्डो युरोपको शीर्ष तीन फरक क्लब र राष्ट्रका लागि १०० गोल पूरा गर्ने पहिलो खेलाडी समेत हुन् ।
रोनाल्डोले युभेन्ट्ससँगै म्यानचेस्टर युनाईटेड, रियल मड्रिडबाट खेल्दा १०० भन्दा बढी गोल गरेका थिए ।
यस्तै रोनाल्डोले पोर्चुगलका लागि १०० गोल गरिसकेका छन् ।

