काठमाडौं । ला लिगाको उपाधि होड रोमाञ्चक देखिएको छ । लिगमा तीन चरणको खेल बाँकी छदाँ मुख्य चार टोली उपाधिको होडमा देखिएका छन् ।
ला लिगाको ३५ चरणका खेल समाप्त भएका छन् । अब बाँकी समान तीन चरणका खेलले उपाधिको छिनोफानो गर्नेछ ।
तालिकामा एट्लेटिको मड्रिड ७७ अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको रियल मड्रिड र तेस्रो स्थानमा रहेको बार्सिलोनाको समान ७५ अंक छ । सेभिया ७१ अंक सहित शीर्ष टोलीमाथि दबाब बढाईरहेको छ ।
तीन खेलमध्य कुनै एक खेल तलमाथि भएको अवस्थामा समेत उपाधि होडलाई प्रभावित पार्ने देखिन्छ ।

गत हप्ता लिगको शीर्ष स्थानमा उक्लिने अवसर बार्सिलोना र रियल मड्रिडलाई थियो ।
तर बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडले गोल रहित बराबरी खेल्यो । अर्को खेलमा सेभियासंग २–२ गोलको बराबरीमा रोकिदै रियलले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो ।

ला लिगामा बार्सिलोना र रियल मड्रिडको प्रभुत्व ताड्दै एट्लेटिको मड्रिड यस सिजनको लिग उपाधि उचाल्न चाहन्छ । च्याम्पियन्स लिगबाट बाहिरिसकेका रियल र बार्सिलोना समेत घरेलु लिग उपाधि हात पार्दै सिजनको सुखद अन्त्य गर्ने दाउमा छन् । यता शीर्ष तीनका टोलीमाथि दबाब थप्दै सेभियाले समेत उपाधिको गणितिय सम्भावनालाई जिवितै राखेको छ ।
युरोपको ठुला लिग मध्य प्रिमियर लिगमा म्याचेष्टर सिटीले उपाधि उचाल्न मात्र बाँकी छ । बुन्डेसलिगा बायर्न म्युनिखले उचालिसकेको छ ।