काठमाडौं । पोखरामा आयोजना भएको १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता खेल्न आएको क्यामरुनको अफ्रिकन रुट्स एसोसियसनको टिम आज स्वदेश फर्किने भएका छन् ।
अफ्रिकन टिमको व्यवस्थापन हेरिरहेका सगुन तण्डुकारले उनीहरु आज स्वदेश फर्कने जानकारी गराए । उनीहरुको साँझ ७:२५ बजेको फ्लाइट रहेको तण्डुकारले बताए ।
नेपाल आएका मध्ये ९ खेलाडी र १ प्रशिक्षक आज स्वदेश फर्किने छन् । प्रतियोगिताको लागि २० सदस्सीय अफ्रिकन टिम नेपाल आएको थियो ।
बाँकी खेलाडी मध्ये ५ जना नेपाल सुपर लिग खेलिरहेका छन् । यस्तै ५ खेलाडीको सुपर लिग टिमसँग अनुबन्धको कुरा चलिरहेको कारण नेपालमै बस्ने छन् ।
अफ्रिकन टिम आहा राराको फाइनल पुगेको थियो । फाइनलमा संकटा क्लबसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।
त्यस बाहेक अफ्रिकनले मोफसलका आधा दर्जन गोल्डकप प्रतियोगिता खेलेको थियो ।
साहारा क्लब पोखराको निमन्त्रणा नेपाल आएको अफ्रिकन टिम केहि विवादित समेत बन्यो ।
आयोजक साहारालाई झुक्काएर अफ्रिकन टिम आहा राराको फाइनलको अघिल्लो दिन रातारात राजर्षी जनक कप खेल्न सर्लाही पुगेपछि विवादित बनेको थियो ।