काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम धनगढी एफसीले अफ्रिकन खेलाडी आफिज ओलावालाई अनुबन्धित गरेको छ ।
धनगढीले बिहीबार ओलावालेलाई अनुबन्धित गरेको जनाएको छ ।
धनगढीले बिहीबार नै गोलकिपर किरण चेम्जोङलाई आइकोनिक खेलाडीको रुपमा अनुबन्धन गरेको थियो ।
नाईजेरियन फरवार्ड ओलावाले नेपाली फुटबलमा चिरपरिचत नाम हो ।
ओलावालेले मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार र रानी पोखरी कर्नर टिमबाट खेलिसकेका छन् ।
ओलावाले भारत र बंगलादेशको शीर्ष लिग समेत खेलिसकेका छन् ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने एनएसएल बैशाख ११ गतेबाट सुरु हुँदैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । बैशाख २५ सम्म सञ्चालन हुने लिगमा कुल २५ खेल हुनेछ ।
पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।
लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
लिगमा सहभागी टिमले अक्सनबाट खेलाडी छनोट गरिसकेको छ ।