काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ ५ वर्षपछि घरेलु फुटबलमा फर्कने भएका छन् ।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) मार्फत किरण घरेलु फुटबलमा फर्कन लागेका हुन् ।
गोलकिपर किरणलाई धनगढी एफसीले एनएसएलका लागि अनुबन्धन गरेको छ । धनगढीले किरणलाई आईकोनिक खेलाडीको रुपमा टिममा भित्र्याएको हो ।
पछिल्लो समय भारतीय आई लिग क्लब पन्जाब एफसीमा अनुबन्धित किरणले आफु ५ वर्षपछि घरेलु फुटबलमा फर्कन पाउँदा खुसी भएको र एनएसएल खेल्न उत्साहित रहेको बताए ।
'५ बषपछि घरेलु फुटबलमा फर्कदै छु । निकैनै उत्साहित छु,’ धनगढीमा आबद्द भएपछि ३१ वर्षीय किरणले भने ।
गो ड्रिम्सको स्वामित्वमा रहेको धनगढीका मालिक सुवास शाही र आईकोनिक खेलाडी किरणले सम्झौता पत्रमा हस्ताक्षर गरे । अव किरणले मार्की खेलाडी विशाल राईसँगै रहेर धनगढीबाट खेल्नेछन् । सम्झौता भने के कति हो खुलाईएको छैन ।

यस अघि किरणले अन्तिम पटक ७२ सालमा घरेलु फुटबलमा सफल मनाङ मर्स्याङ्दी क्लबबाट खेलेका थिए । त्यस अघि किरणले मछिन्द्र फुटबल क्लबबाट व्यवसायिक फुटबलको सुरुवात गरेका थिए । ६३ सालमा मछिन्द्रबाट खेलेका करिण त्यसपछि थ्री स्टार क्लबबाट करिब ८ व र्ष खेले ।
मनाङबाट खेलेसँगै किरण माल्दिभ्सको सफल क्लब टिसी स्पोर्टस् क्लबमा आबद्ध भएका थिए । दुई सिजन धिवेही प्रिमियर लिग अन्तर्गत टिसीमा खेलेका किरण त्यहाँ लिगकै सर्वोत्कृष्ट गोलरक्षक चुनिएका थिए ।
दुई सिजन टिसीमा बिताएपछि किरण भारतीय लिग पन्जाबमा आबद्ध भएका थिए । सन् २०१८ को आधा सिजन क्लब बिताएका उनले त्यसपछि निरन्तर पन्जाबबाट खेल्दै आईरहेका थिए । यस बीचमा उनले पन्जाबलाई लिगको उपाधि समेत दिलाएका छन् । त्यस क्रममा किरण सर्वोत्कृष्ट गोलरक्षक समेत चुनिए ।
पछिल्लो समय भारतीय आई लिगमा उत्क्रष्ट प्रदर्शन गरेका किरण एसियाली फुटबल महासंघ (एएफसी)ले घोषणा गर्ने हप्ताकै उत्कृष्ट खेलाडी घोषित रहे ।
सन् २००८ मे २४ मा मकाउविरुद्ध डेब्यू गरेका किरणले आफ्नो कप्तानीको पहिलो अवसरमै नेपाललाई घरेलु मैदानमा आयोजना भएको थ्री नेसन्स कपको उपाधि दिलाएका थिए । नियमित कप्तान विराज महर्जनले सन्यास लिएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।
पहिलो पटक आयोजना हुन लागेको एनएसएलबारे बोल्दै आईकोनिक खेलाडी किरणले प्रतियोगिता थोरै समय भएको र तयारी समेत थोरै भएको जनाउँदै सतप्रतिशत टोलीको जितको लागि खेल्ने बताए ।

'नेपाली फुटबल नयाँ मोडमा आएको छ । समय थोरै भएपनि क्वालिटीको होस् । बाचा गर्छु । सबै खेल जित्नको लागि खेल्छु ।’ किरणले भने ।
भन्दा सिनियर र अनुभवि साथै राष्ट्रिय टोलीको समेत कप्तान रहेका कारण किरण टोलीको कप्तानीको मुख्य पात्र हुन् ।
नेपाल स्पोर्टस् म्यानेजमेन्टले आयोजना गर्ने फ्रेन्चाईज लिग बैशाख ११ गतेबाट १ गतेसम्म दशरथ रंगशालामा आयोजना हुनेछ । जसमा विराटनगर सिटी, एफसी चितवन, काठमाडौ रेजर्स, ललितपुर सिटी, पोखरा थण्डर्स, बुटबल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।
किरण सम्मिलित धनगढीले आफ्नो पहिलो खेलमा विराटनगर सिटी एफसीसँग खेल्नेछ ।