काठमाडौं । विभागीय टिम एपीएफ क्लब अपराजित रहदै पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको लिग चरणको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई ४० रनले पराजित गर्दै एपीएफ अपराजित रहदै फाइनलमा पुगेको हो ।
टियु क्रिकेट मैदानमा एपीएफले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा २ विकेट गुमाएर १ सय २ रन मात्र बनाउन सक्यो ।

लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३५ रन जोडिन । कप्तान नेरी थापाले अविजित २७ रन जोड्दा सरस्वती मगरले अविजित रहदै २१ रन जोडिन ।
नितु भण्डारीले १७ रन बनाईन ।
एपीएफकी बिनु बुढा र रेखा रावलले १/१ विकेट लिईन् ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।
एपीएफका लागि ममता चौधरीले सर्वाधिक ४७ रनको योगदान गरिन् । कप्तान सिता राना मगरले २८ रन जोड्दा राजमती ऐरीले २३ रन बनाईन ।

लुम्बिनीका स्वतिका बजगाई र कृतिका मरासिनीले २/२ विकेट लिईन ।
यस जितसँगै एपीएफले ४ खेलमा शतप्रतिशत जितसहित ८ अंक जोड्यो ।
लुम्बिनी भने अंक विहीन रह्यो । लुम्बिनीले ४ खेलमा अंक जोड्ने सकेनन् ।
अब एपीएफले उपाधिका लागि सुदूरपश्चिम प्रदेशसँग खेल्नेछ । सुदूरपश्चिम ६ अंक जोडेर दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो ।

एपीएफ र सुदूरपश्चिमबीचको फाइनल खेल शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सवुमनले १५/१५ हजार पाउने छन् ।
