काठमाडौं । प्रदेश-१ ले राजधानीमा जारी पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम लिग खेलमा जित निकालेको छ ।
टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा प्रदेश-१ ले ललितपुर मेयर्स-११ लाई १५ रनले पराजित गरेको हो ।
प्रदेश-१ ले दिएको १ सय २९ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय १३ रन मात्र बनाउन सक्यो ।
ललितपुरका लागि अनुराधा चौधरीले सर्वाधिक २८ रन बनाईन । सुमन खतिवडाले २७ रन जोड्दा अश्मिना कर्माचार्यले १२ रन जोडिन ।

कप्तान सरस्वती कुमारीले अविजित रहदै १७ रन जोडिन ।
प्रदेश-१ की रुबिना क्षेत्रीले ३ विकेट लिईन ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-१ ले २० ओभरमा २ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो ।
प्रदेश-१ का लागि रोमा थापाले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेलिन् । यस्तै अप्सरी बेगमले अविजित २६ रन जोडिन ।
कप्तान रुबिना क्षेत्री२१ रन बनाईन । काजल श्रेष्ठ ८ रनमा आउट भईन ।
ललितपुरकी सन्तोषी चौधरी र सरस्वती कुमारीले १/१ विकेट लिईन् ।

यस जितसँगै प्रदेश-१ ले दोस्रो जित निकालेको छ र प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।
तर, प्रदेश-१ यस अघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
प्रदेश-१ ले ४ खेलमा ४ अंक जोड्यो । प्रदेश-१ लिगको तेस्रो स्थानमा रह्यो ।
ललितपुर ४ खेलमा २ अंक सहित चौंथो स्थानमा रहेको छ ।
