छैन विश्राम, जोखिममा खेलाडी !

काठमाडौं ।
‘विश्वमै नभएको फुटबल नेपालमा’ यो भनाई बंगलादेशी प्रशिक्षक जेम्स डेको हो । अष्ट्रेलियन डेले नेपालमा आयोजना भएको १३ औं सागका दौरान तयार पारिएको खेल तालिकालाई लिएर असन्तुष्टि जनाउँदै यस्तै भनेका थिए ।
फिफाको नियममा कुनै टोलीले ४८ घण्टाको फरकमा मात्र दोस्रो खेल खेल्नु पर्ने हुन्छ । तर, नेपालले आयोजना गरेको सागमा कुनै पनि टोलीले २७ घण्टा नबित्दै दोस्रो खेल खेलेका थिए ।
विना विश्राम आफ्ना खेलाडीलाई लगातार मैदानमा उतार्नु पर्ने अवस्था आएपछि डेले नेपाली फुटबललाई जात्राको संज्ञा दिएका थिए । उनले फिफाको नियम अनुसार सबै टोलीले अर्को खेल खेल्नु अघि विश्राम पाउनु पर्ने बताएका थिए ।
करिब दुई वर्ष अघि बुटवलमा आयोजना भएको मदन भण्डारी गोल्डकपको फाइनल खेलेका लागि समय नपुगेको भन्दै थ्री स्टारका तत्कालिन प्रशिक्षक मेघराज केसीले विरोध जनाएका थिए ।
उनले सेमिफाईनल खेलेको भोलीपल्टै फाइनल खेल्नु पर्ने आयोजको प्रस्तावलाई अस्वीकार गरेका थिए । उनले आफ्ना खेलाडीलाई विश्राम गर्ने समय नपुग्ने र फिफाको नियम अनुसार चल्नु पर्छ भन्दै फाइनल खेल्न मानेका थिएनन् ।
‘हुरीबतासका कारण सेमिफाइनल एक दिन सरेपछि आयोजकले फाइनल पनि सार्ने भनेका थिए । तर, उनीहरुले सेमिफाइनल जितिसकेपछि भोलीनै खेल्नु पर्छ भन्न थाले ।’ केसीले खेलपाटीसंग भने, ‘हामी दोस्रो दिनको १ बजेसम्म पनि नखेल्नेमा जोड गरिरहेका थियौ । उनीहरुले यति ठुलो पुरस्कार राशीका लागि पनि नखेल्ने ? भन्दै ठुलो कुरा पनि गरेका थिए । पछि उनैले फुटबलको नियम थाहा नभएको र अर्को पटक यसलाई सच्चाउने भन्दै खेल्न आग्रह गरे ।’
उनले थपे, ‘अर्कोतर्फ आयोजकले प्रमुख अथितिको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ल्याउने तयारी रहेछ । प्रमुख अथितिका लागि फुटबलको नियम विपरित आयोजक जान तयार छ भने हामीलाई लिखित पत्र दिनुस भन्यौ । त्यसपछि उनले लिखित रुपमा पत्र दिए । र थ्री स्टारले फाइनल खेल खेलेको थियो ।’
विश्राम नहुँदाको परिणाम
घरेलु फुटबलकै सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिता सक्न हतारो गर्दा खेलाडीले विश्राम नपाएर चोट बोक्ने गरेको उदाहरण प्रशस्तै छन् । यस सिजनको राष्ट्रिय महिला लिग फुटबलमा लगातारको खेलका कारण धेरै खेलाडीले चोट बोकेका थिए । राष्ट्रिय महिला फुटबल टोली स्ट्राइकर सावित्रा भण्डारी पनि यसैको सिकार बनेकी हुन् । सावित्राले लिगका दौरान भोगेको चोट विश्राम नलिनुकै परिणाम रहेको राष्ट्रिय फुटबल टोलीका पूर्व फिजियो विवेक विक्रान्त अधिकारी बताउँछन् ।
‘बाहिर कसैसँग ठोक्किएर लागेको चोट बाहेकका चोट भनेको खेलाडीले आवश्यक विश्राम नलिनुको परिणाम हो । यसको सजिलो उदाहरण सावित्रा भण्डारी हुन् ।
एसीएल इन्जुरी भनेको कसैसँग ठोकिएर हुने इन्जुरी हैन ।’ अधिकारीले भने, ‘त्यो इन्जुरी उनले जति खेल खेलिन्, त्यतिनै शरिरलाई विश्राम नदिनुको परिणाम हो ।’
एन्फा, सम्बन्धित क्लब र खेलाडी स्वयमको लापर्वाहीका कारण नेपालमा धेरै खेलाडीको फुटबल करियर धरापमा छ । चोटपछि उपचार गर्न नसकेर फुटबलबाट पलायन भएका धेरै खेलाडी घरेलु फुटबलमा छन् । यस विषयमा न त एन्फा गम्भिर बनेको छ, न त क्लब र खेलाडी सचेत देखिन्छन् ।


घरेलु फुटबलका ठुला क्लबहरु उपाधिको दौडमा आफ्ना खेलाडीलाई पर्याप्त विश्राम नदिएर मैदानमा उतारिरहेका छन् । एक खेल खेलेपछि ४८ घण्टा विश्राम दिनु पर्ने फिफाको नियम क्लबले पालना गरेका छैनन् । भौगोलिक कठिनाईका बीच २४ घण्टाभित्र दुई प्रतियोगिताका लागि यात्रा गर्नु खेलाडीको अर्को बाध्यता छ । ‘यसले न त नेपाली फुटबलाई फाइदा हुन्छ, न त खेलाडीलाई नै ।’ एक खेलाडी गुनासो गर्छन् ।
थ्री स्टार क्लबले सोमबार चौंथो संस्करणको बागमती गोल्डकप फुटबलको उपाधि जित्यो । सोमबार उपाधि जितेको थ्री स्टार रातारात आहा–रारा गोल्डकप खेल्न पोखरा पुग्यो । मंगलबार पुलिससँगको खेलका लागि थ्री स्टार रातारात पोखरा पुगेको थियो । तर, लगातारको खेलको दबाब र खेलाडीलाई शारिरिक विश्राम नहुँदाको नतिजा थ्री स्टारले भोग्न पर्यो । पुलिससँग विश्राम नपाएका थ्री स्टारका खेलाडीले सोचे अनुसारको प्रदर्शन दिन सकेनन् । थ्री स्टार पुलिसँग ४–० को फराकिलो अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन पुग्यो ।
थ्री स्टारका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले पनि खेलाडी थाकेका कारण खेलको नतिजा गुमाउन पुगेको स्वीकारे । उनले लगातारको खेलका कारण विश्रामको अवसर नपाएकाले त्यसको असर खेलमा देखिएको बताए ।
‘हामीले आराम गर्ने मौका पाएनौं । हिजोको खेलले आज (मंगलबार) असर गरेको छ । एक दिनको आराम पाएको भए आजको नतिजा राम्रो हुन्थ्यो ।’ उनले भने, ‘खेलाडीहरु रातारात आएर यतिको खेल्दा सन्तुष्ट छु ।’
गत शनिबार एएफीएफले पोखरामा आहा–रारा गोल्डकपको उद्घाटन खेल खेल्यो । आयोजक टोली साहारा एकेडेमिसँग १–० को जित निकालेको एपीएफ त्यसको दोस्रो दिननै राजर्षी जनक कप खेल्न सर्लाहीको बागमती नगरपालिका पुग्यो ।
आहा–रारामा आयोजक टोलीमाथि एक मात्र गोल गर्ने आशिष लामासहितको टोली सर्लाहीमा देखिएको थियो । तर, राजर्षी जनक कपमा एपीएफ सेन्टर कलेज बीएफसी (भरतपुर)सँग सुरुवाती समयमा पछि परेको थियो ।
तर, अन्तिम समयमा एपीएफले जसोतसो पुनरागमन गर्दै खेल निर्धारित समयमा बराबरी अवस्थामा ल्याएको थियो । साहारा एकेडेमीविरुद्ध एक गोल गरेका आशिषले दुई गोल गर्दै एपीएफलाई हारबाट जोगाएका थिए ।
खेलाडीलाई औषधी विश्राम
फिट खेलाडी राम्रो खेलाडी हुन जरुरी छैन । तर राम्रो खेलाडी फिट हुन जरुरी छ । अहिले खेलाडीको खेल्न सक्ने क्षमतालाई फिटनेसले मापन गरिरहेका हुन्छन् । फिटनेसले खेलाडीमा भएको क्षमतालाई पोलिस लगाउने काम गर्दछ । तर, जब मोफसलमा गोल्डकप सुरु हुन्छ, नेपाली खेलाडी विश्राम पाउँदैनन् ।
‘खेलाडीका लागि सबैभन्दा आवश्यक बस्तु नै विश्राम हो । हामी जति पनि खेल खेल्छौ । त्यो बेला शरिरमा सानो–सानो माइक्रो टेयरहरु हुने गर्दछन् । ती टेयरहरुलाई रिपेयर गर्नका लागि शरिरलाई विश्राम दिनु पर्दछ । लगातार खेलेको अवस्थामा ती साना–साना माइक्रो टेयरहरु रिपेयर हुन पाउँदैन् ।’ राष्ट्रिय फुटबल टिमका पूर्व फिजियो अधिकारी भन्छन्, ‘अझ सजिलो भाषामा भन्ने हो भने खेलाडीलाई गहिरो निन्द्रामा सुत्न अतिनै आवश्यक छ । गहिरो निन्द्राले हाम्रो शरिरलाई सटडाउन मोडमा राखेर मांशपेशीलाई रिकभर गरिरहेको हुन्छ ।’
शरिरलाई आवश्यक विश्राम नगरि निरन्तर खेलिरहने हो भने शरिरमा हुने ‘मेन्जल्सहरु’ सकिएर जाने उनले बताए । शरिरमा ‘मेन्जल्स’को मात्र कम हुँदै जाँदा खेलाडीमा इन्जुरीको समस्या बढ्ने उनको भनाई छ ।
‘निरन्तर काम गरिरहँदा एक ठाउँमा गएर मसल्सले काम गर्न छोड्छ । मस्कुलर ब्यालेन्स नमिल्दा त्यसले जोर्नीहरुमा दबाब सृजना गर्ने गर्दछ ।’ उनले भने, ‘हामीले सुनिरहने लिगामेन्ट च्यातियो, एसियल गयो भन्ने कुरा एकै पटक हुँदैन । यो विश्राम नहुँदा, निरन्तर खेल्दै जाँदा, विस्तारै खेलाडीमा ह्यामिस्ट्रिङ हुने, लिगामेन्ट जाने, एसियल जाने गरिरहेको हुन्छ ।’

फिफा र एफसीले हचुवाको भरमा दुई खेलबीचको समय ४८ घण्टा निर्धारण नगरेको पूर्व थ्री स्टार प्रशिक्षक केसी बताउँछन् । उनले खेलाडीलाई ४८ घण्टा विश्राम दिनु पर्ने नियममा बैज्ञानिक कारण रहेको बताए । ‘फिफा र एएफसीले हचुवाका भरमा नियम बनाएका हैनन् । उनीहरुले बैज्ञानिक तरिकामा प्रमाणीत गरेर नियम बनाएका छन् ।’ केसीले भने ।
‘खेलाडीले एक खेल खेलेपछि उसका मसल्सहरु रिकभर हुनका लागि कति समय लाग्छ त ? त्यो अनुसार नै दुई खेलबीचको समय निर्धारण गरिएको हुन्छ । अब यो कुरा नेपालमा कसले मान्ने ?’ केसीले भने, ‘त्यसैले नेपाल यति पछि परेको हो । हामीलाई त्यो सानो कारण जस्तो लाग्छ । तर त्यसको प्रभाव खेलाडी र नेपाली फुटबलमा कति पर्छ भन्ने कुरा बुझ्नु पर्छ ।’
‘हामीले खेलाडीलाई पनि नियम सिकाएका छैनौ । खाली नतिजा र प्रदर्शन मात्र खोजी रहेका छौ । हामीले दुई–चार जना नाम चलेको खेलाडीको इन्जुरीको विषयमा मात्र थाहा पायौ, सुन्यौ । तर, नेपालमा फुटबल खेल्नेहरु लाखौ छन् । हामीले थाहा नपाएका, नसुनेको हजारौ खेलाडी छन् । जो गम्भिर इन्जुरीकै कारण घरभित्रै थन्किएका छन् ।’ उनले भने ।
खेलाडीलाई प्रशिक्षणको लोड, समय, खेल लगायतका विषयलाई व्यवस्थित गर्न आवश्यक रहेको उनले बताए ।
एन्फाको बेग्लै तर्क
फुटबल नियम अनुसार खेलिनु पर्छ । तर नेपालमा त्यस्तो पाइदैन । एन्फा प्रवक्ता किरण राईले ४८ घण्टाको नियम अन्तर्राष्ट्रिय फुटबलमा मात्र लागु हुने बताए । उनले घरेलु प्रतियोगितामा यो नियम लागु नहुने बताए ।
यसअघि नेपालमा आयोजना भएको १३ औं सागमा एकै टोलीले २७ घण्टा नबित्दै दोस्रो खेल खेल्नु परेको थियो । तर, एन्फा प्रवक्ता राईले खेलाडीको विश्रामको विषयलाई मोफसलका गोल्डकप आयोजकको नियम संगत रहेको भन्दै पन्छिन खोजे । उनले यस विषयमा एन्फाको कमजोरी नभई आयोजक, क्लब र खेलाडीको भएको बताए ।
थ्री स्टारका पूर्व प्रशिक्षक केसीले एन्फा स्वयमले आयोजना गरेको प्रतियोगितामा पनि फिफाको नियम पालना हुन नसकेको बताउँछन् ।
‘यो नेपाल हो । नेपालमा यस्ता कैयौ अवस्था सृजना हुन्छन् । जहाँ फिफाको नियमलाई नियम नै मानिदैन् ।’ उनले भने, ‘एन्फा चलाउँछु भन्नेहरु फुटबल बुझेर त्यो स्थानमा पुगेका हैनन् । उनीहरु त फुटबलको राजनीतिक हिसाबमा त्यो स्थानमा पुगेका हुन् । फेरी उनीहरु फुटबल बुझेको व्यक्तिसँग छलफल गर्न पनि चाहँदैनन् । अर्को कुरा उनीहरु त्यो स्थानमा पुगिसकेपछि सबैथोक मै हुँ भन्ने भ्रम हुन्छ ।’

एन्फा, क्लब र खेलाडी दोषी
खेल खेलेकै कारण खेलाडीको करियर सक्न दिन नहुने एन्फा प्रवक्ता राईले बताए । यसका लागि क्लब, आयोजक र खेलाडी स्वयम पनि जानकार हुन पर्ने उनले उल्लेख गरे । ‘यसमा एन्फाको कुनै कसुर छैन । खेलाडीले पनि मैले खेलेपछि ४८ घण्टा पुगेको छैन्, खेल्दिन भन्न सक्नु पर्यो । क्लबले पनि खेलाडीको भविष्यको बारेमा सोच्नु पर्छ । आफ्नो लागि मात्र हैन् ।’ प्रवक्ता राईले भने ।
प्रशिक्षक केसीले यस घटनामा एन्फाको ठुलो दोष रहने बताए । उनले मोफसलको गोल्डकपको मिति जुधाएर अनुमति दिनुनै गलत भएको बताए ।
‘एक गोल्डकपसँग अर्को गोल्डकपको मिति जुध्ने गरि अनुमति एन्फाले किन दिने ?’ केसीले प्रश्न गरे, ‘नेपाल सानो छ । पूर्वदेखि पश्चिमसम्म एक आपसमा फुटबलको सम्बन्ध छ । त्यहाँ क्लबहरुले आफ्नो सम्बन्धलाई बचाईरहनु पर्नेछ । त्यसैले एउटा प्रतिष्ठित क्लबको हिसाबले पनि ती प्रतियोगितामा सहभागिता जनाउनु पर्ने बाध्यता आउँछ ।’
उनले थपे, ‘एन्फासँग त झन टेक्निकल कमिटि छ । उनीहरुले त यो फुटबलको बैज्ञानिक कारण अनुसार अनुमति दिन मिल्दैन भन्नु पर्ने हैन र ? उनीहले यति ग्याप पुगेन । यति समय ग्याप नभएसम्म दिन मिल्दैन भनेर स्वीकृती नदिनु पर्ने हो ।’
अब क्लबहरुले पनि कुन प्रतियोगिता र कति समयको ग्यापमा खेल्ने भन्ने विषयमा बिचार गर्नु पर्ने उनको भनाई छ । आयोजक रिसाएपनि खेलाडीको भविश्यका लागि क्लबले सोच्नु पर्ने उनको बुझाई छ ।
प्रशिक्षक केसी खेलाडीको ब्यवहार एन्फा र क्लबभन्दा पनि खराब रहेको अनुभव बताउँछन् ।
‘खेलाडीलाई कुनै खेलको बीचमा एक दिन विश्राम राख्ने हो भने उनीहरु २–४ हजार म्याच फिका लागि भागेर अर्को ठाउँको कुनै पनि स्थानिय प्रतियोगिताको खेल खेलेर आउँछन् ।’ उनले भने, ‘अब एन्फा र क्लबले यो व्यवस्था गरेपनि खेलाडीले भागेर खेलिदिन्छन् । यहाँ नेपाली खेलाडीको ब्यहोरानै ठुलो छ ।’
विश्राम विना खेल्दा मुख्य प्रभाव राष्ट्रको फुटबल र खेलाडीलाई पर्ने केसीको बुझाई छ । उनले कुनै पनि खेलाडीले कुनै फिजियो र प्रशिक्षकको निगरानीमा रहेर खेल्नु नै सबैभन्दा प्रभावकारी रहने बताए ।









-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)


