पोखरा । अफ्रिकन रुट एसोसियसन पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट अन्तिम चारमा पुगेको हो ।
अफ्रिकनलाई जित दिलाउन मौसा र एनजिमीले एक एक गोल गरे । मछिन्द्रका अभिषेक रिजालले एक गोल फर्काए ।
क्यामरुनी खेलाडीले भरिएको अफ्रिकनले २३ औं मिनेटमा मौसाको गोलबाट अग्रता बनाएको थियो । उनले डि-बक्स भित्र पाएको अवसरलाई सहज गोलमा परिणत गरे ।
खेलको ८२ औं मिनेटमा डिजोमोको पासलाई सदुपयोग गर्दै एनजिमीले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको इन्जुरी समयमा अभिषेकले एक गोल गरेपनि मछिन्द्र २-१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
सुनिल बलको पासमा रिजालले पोस्टको दिशा दिएका थिए । तर, उनको गोल सान्त्वना गोल रह्यो ।
खेलको म्यान अफ दि म्याच मौसा चुनिए ।
प्रतियोगिताबाट बाहिरिएपछि मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटवालले सेट टिम नभएको र मिडफिल्डमा कमजोर प्रदर्शन हुँदा पराजित भएको बताए ।
'सहिद स्मारक 'ए' डिभिजन लिग खेलेको सेट टिम छैनन् । विशाल राई पनि घाइते छन् । त्यसैले खेल राम्रो हुन सकेन । मिडफिल्डमा राम्रो भएन कमजोर भएकै हो,' उनले भने ।
अफ्रिकनका टिम म्यानेजर आशिक थापा मगरले टिममा अझै कमजोरी रहेको बताए ।
'स्ट्राइकरहरु प्रभावशाली देखिएन । मिडफिल्ड र डिफेन्स राम्रो भयो । फरवार्डले राम्रो गर्न सकेन । वान भर्सेस वानको मौकालाई गोल गर्न सकेनन्,' उनले भने ।

शनिबार भएको पहिलो खेलमा जित निकाल्दै एपीएफ क्लब सेमिफाइनल प्रवेश गरिसकेको छ ।
अब सोमबार हुने तेस्रो क्वाटरफाइनलमा संकटा र मनाङ मर्स्याङ्दी क्लब खेल्नेछ ।
अन्तिम क्वाटरफाइनलमा थ्री स्टार र नेपाल पुलिस भिड्ने छन् ।
प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
