काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेडले सहज जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा चर्च ब्वाइजले विरगंज युनाईटेड क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको चौंथो मिनेटमा सागर थारुले गोल गर्दै विरगंजलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको १२ औं मिनेटमा सोम थापाले गोल गर्दै चर्च ब्वाइजलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको २५ औं मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्चलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ५४ औं मिनेटमा सोमले व्यक्तिगत दोस्रो गोल गर्दै चर्चलाई ३-१ को जित दिलाए ।
लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।