काठमाडौं । नेपाली फुटबललाई केन्द्रदेखि स्थानीय स्तरसम्म पुर्याउने उद्देश्यले अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रदेश लिगको योजना बनायो ।
एन्फाको योजना स्थानीय स्तरसम्म फुटबल पुर्याउनु मात्र थिएन । त्यहाँबाट नयाँ खेलाडी उत्पादन गर्नु पनि थियो ।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले केन्द्रमा मात्र सिमित बनेको नेपाली फुटबललाई स्थानीय स्तरसम्म पुर्याउन प्रदेश लिगको योजना बनाएको बताएका थिए । उनले स्थानीय तहसम्म फुटबलको माहोल बनाउन र नयाँ खेलाडी उत्पादनका लागि प्रदेश लिगको योजना अघि सारेको बताएका थिए ।
तर, एन्फाको आयोजनामा भएका पछिल्ला लिगहरुमा एन्फाकै एकेडेमीबाट उत्पादित खेलाडीलाई बढी प्राथमिकता दिएको पाइन्छ । प्रदेश लिगमा स्थानीय क्लबलाई च्याम्पियन बनाएर एन्फा प्रिसिडेन्ट कपसम्म डोर्याउनले खेलाडीले नै प्रिसिडेन्ट कपमा स्थान पाएनन् ।
एन्फा आफैले बनाएको लिग निर्देशिकालाई यसै प्रतियोगिताका लागि खुकुलो बनाएपछि स्थानीय खेलाडीले अवसर पाएनन् । एन्फाले प्रिसिडेन्ड कपका लागि मात्र ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका खेलाडीलाई अनुबन्ध गर्न पाउने नियम बनाएको थियो । त्यसै अनुरुप प्रिसिडेन्ट कपमा सहभागि टोलीले ‘ए’ र ‘बी’ डिभिजन खेलेका खेलाडीलाई अनुबन्ध गर्दै प्रतियोगितामा सहभागिता जनाए ।

अर्को तिर एन्फाकै लिग नियमावली अनुसार कुनै एक लिगका लागि एन्फामा दर्ता भएका खेलाडीले सोही सिजनको अर्को लिगमा खेल्न नपाउने नियम छ । यसलाई आधार मान्ने हो भने ‘ए’ डिभिजन लिगकै संरचना भएको एन्फा प्रिसिडेन्ट कपमा पनि अन्य लिग खेलेका खेलाडीले खेल्न नपाउनु पर्ने हो । तर, यहाँ ‘ए’ डिभिजन लिगको शीर्ष ६ भित्रै रहेका क्लबका खेलाडीको बाहुल्यता रह्यो । जहाँ विभागीय टोलीका खेलाडीले समेत खेलेका थिए ।
एन्फाका लिग कमिटिका संयोजक सन्जिव मिश्रले कोरोना कारण खेलाडीलाई एन्फा प्रिसिडेन्ट कपका लागि मात्र खेलाडी अनुबन्ध गर्न दिने नियम बनाएको बताए । उनले ‘ए’ डिभिजन लिग नभएको र क्लबले खेलाडीलाई रिलिज गरेका कारण प्रिसिडेन्ट कपमा मात्र खेल्न दिने एन्फाको निर्णय भएको बताए ।
‘यस वर्ष कोभिडका कारण लिग हुन सकेन् । लिग नभएका कारण सबै क्लबले आफ्ना खेलाडीलाई सम्झौतामा राख्न सकेन् । त्यसैले कम्तिमा एन्फा प्रिसिडेन्ट कपमा भएपनि खेलाडीले सहभागिता गर्न पाउन भन्ने हेतुले हामीले खेल्न दिएका हौँ,’ लिग संयोजक मिश्रले भने ।
यता एन्फा अध्यक्ष शेर्पाले खेलाडी क्लबमा आबद्द नभएकाले रोक्न नसकिएको बताए । उनले नियमित लिग गर्न नसकिएकाले पनि एक खेलाडी एक क्लबको नियम कडाइका साथ लागु गर्न नसकिएको बताए ।
एन्फा अध्यक्ष शेर्पाले भने, ‘गत सिजनको लिग नियमित गर्न सकिएन् । यसले गर्दा पनि खेलाडीलाई क्लबहरुले आफ्नो सम्झौतामा राख्न सकेन् । उनीहरु फ्री जस्तै भए । हामीले पनि उनीहरुलाई रोक्न सकेनौ । रोक्ने कुरा पनि भएन् । यसले स्थानीय खेलाडी उत्पादनमा असर गरेको छ । अर्को वर्षदेखि एक खेलाडी एक क्लबको नियम हुनेछ । त्यसमा कडाई पनि हुन्छ । यो वर्ष यस्तै भयो ।’
लिग संयोजक मिश्रले अहिलेसम्म एकै सिजनमा एक डिभिजनबाट अर्को डिभिजनमा खेल्न नपाउने पिरामिडलाई कायमै राखेको बताए ।
‘हाम्रो यहाँ ‘ए’ डिभिजनमा दर्ता भएका खेलाडीले ‘बी’ र ‘सी’ डिभिजनमा खेल्न पाउँदैनन् । त्यस्तै ‘बी’ डिभिजनमा दर्ता भएकाले खेलाडीले ‘सी’ डिभिजन खेल्न पाउँदैनन् । ‘सी’ क्वालिफायरका लागि ‘सी’ मा दर्ता भएका खेलाडीले खेल्न पाउँदैनन् । एक किसिमले हामीले त्यो पिरामिडलाई व्यवस्थित गरेका छौ,’ उनले भने ।

नेपालगञ्जमा आयोजना भएको प्रिसिडेन्ट कपमा धनगढीको स्टार सिटी च्याम्पियन बनेको थियो । उपाधि विजेता स्टार सिटीसँगै, लुम्बिनी प्रदेशको धम्बोझी, रौटहटको मनकामना युवा क्लब र गण्डकी प्रदेशको त्रीवेणी क्लब राष्ट्रिय लिगका लागि छनोट भएका छन् । प्रिसिडेन्ट कपका शीर्ष चार क्लबले राष्ट्रिय लिग खेल्ने अवधारणा रहेको छ ।
त्यस बाहेक ‘ए’ डिभिजन लिगका शीर्ष ६ क्लबले पनि राष्ट्रिय लिग खेल्ने छन् । राष्ट्रिय लिग खेल्ने शीर्ष ६ मा लिग च्याम्पियन मछिन्द्र, विभागीय टोली आर्मी, मनाङ मर्स्याङ्दी, थ्री स्टार, नेपाल पुलिस र जावलाखेल युवा क्लब रहेका छन् ।
तर, राष्ट्रिय लिगका लागि छनोट भएका क्लबका धेरै जसो खेलाडीले दुई क्लबबाट खेलेका छन् । जुन खेलाडीले ‘ए’ डिभिजन क्लबलाई राष्ट्रिय लिगमा छनोट हुन महत्वपूर्ण भूमिका निभाए, तीनै खेलाडीले प्रिसिडेन्ट कपमा सहभागि क्लबलाई पनि राष्ट्रिय लिगमा पुर्याउन ठुलो योगदान दिए ।
यस्तो अवस्थामा भोली क्लबबीच कस्तो असर पर्छ ? भन्ने प्रश्नमा लिग संयोजक मिश्रले भने, ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट त हुन्छ । किनभने त्यहाँ विभागीय क्लबका खेलाडी पनि सहभागि थिए । अन्य क्लबले भने खेलाडी अनुबन्ध गरेका छैनन् । त्यसैले पनि हामीले प्रिसिडेन्ट कपका लागि मात्र खेलाडी अनुबसन्धत गर्न पाउने भनेका हौँ । राष्ट्रिय लिगका लागि सबै क्लबले फेरी एन्फामा खेलाडी दर्ता गर्नु पर्नेछ । प्रिसिडेन्ट कपमा ति खेलाडीले सहभागिता हुन नपाउनु पर्ने नियम भएपनि यो वर्ष कोभिडका कारण पाउने भयो । अर्को वर्ष सबै लिग एकै समयमा गर्ने योजना छ । त्यसो भयो भने यस्तो बिबाद आउँदैन् ।’