काठमाडौं । एएफसी कप-२०२१ प्ले अफको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी क्लबले आज किर्गिस्तानको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
आर्मीले आज दशरथ रंगशालामा किर्गिस्तानसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
आर्मी र किर्गिस्तानबीचको खेल अपरान्ह ३:३० बजे सुरु हुनेछ । खेल रंगशालामा पुगेर निशुल्क हेर्न सकिनेछ ।
आर्मीले एएफसीको प्ले अफमा श्रीलंकाको पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
आर्मीले एएफसी कप-२०२१ प्ले अफको पहिलो खेल दशरथ रंगशालामा खेल्नेछ ।
आर्मी र श्रीलंका पुलिसबीचको खेल अप्रिल ७ मा हुनेछ ।
पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल अप्रिल १४ मा हुनेछ ।
भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ ।
यस प्ले अफको विजेताले समूह चरणको समूह 'डी' स्थान बनाउने छन् ।
समूह 'डी' मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ ।
एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेल लागेको हो ।
सहिद स्मारक 'ए' डिभिजन लिगमा उपविजेता बनेपनि च्याम्पियन मछिन्द्रको लाईसेन्स नहुँदा आर्मीले प्ले अफको मौका पाएको हो ।