एजेन्सी । फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटमा बेल्जियमले विजयी सुरुवात गरेको छ ।
बुधबार राति भएको छनौटको पहिलो खेलमा बेल्जियमले वेल्सलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
बेल्जियमले एक गोलले पछि परेको स्थिति उल्टाएर वेल्सलाई हराएको हो ।
बेल्जियमको जितमा केभिन डी ब्रुएन, थोर्गन हाजार्ड र रोमेलु लुकाकुले एक एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता वेल्सले बनाएको थियो । खेलको ११ औं मिनेटमा ह्यारी विल्सनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर, खेलको २२ औं मिनेटमा केभिनले गोल गर्दै बेल्जियमलाई १-१ गोलको बराबरीमा ल्याए ।
२८ औं मिनेटमा हाजार्डले गोल गरेपछि बेल्जियमले २-१ को अग्रता बनायो ।
त्यसपछि खेलको ७३ औं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै बेल्जियमलाई ३-१ को सहज जित दिलाए ।
जितसँगै समूह 'ई' को बेल्जियमले ३ अंक जोडेको छ ।
बेल्जियम समूहको दोस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा चेक रिपब्लिकले इस्टोनियालाई ६-२ गोल अन्तरले पराजित गरेको छ ।
चेक रिपब्लिक ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।